पथरी/पूर्बी नेपालको नौ जिल्लालाई लिम्बुवान राज्य हुनुपर्ने मुख्य माग राख्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि एक सय ५० भन्दा बढी उमेद्वार उठाउने तयारी गरेको छ ।
आगामी मंसिरमा दुई चरणमा हुन लागेको निर्वाचनको लागि प्रतिनिधि र प्रदेशसभामा समानुपातिकतर्फ एक सय उमेद्वारको मनोनयन दर्ता भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन(मिराक)ले बताए । दाप सहितको खुकुरी चुनाव चिन्ह पाएका मञ्चले प्रदेश नं. १,२,३,४ र ७ नम्बर प्रदेशबाट समानुपातिकतर्फबाट उमेद्वार दर्ता भएको उनले बताए । प्रत्यक्षतर्फ दुवै सभागरी ५० भन्दा बढी उमेद्वारीको तयारी भइरहेको अध्यक्ष लिङ्देनले बताए ।
संगठनका अध्यक्ष लिङ्देन, उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, प्रदेश महासचिव संगम खनाल लगायतका मुख्य नेताहरु प्रदेश सभाको समानुपातिक सूचीमा मनोनयन दर्ता भएको छ । ठूला दलहरुका मुख्य नेताहरु प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उमेद्वार बन्ने निश्चित भएको बेला लिम्बुवानका मुख्य नेताहरु भने प्रदेशसभाको समानुपातिकका उमेद्वार बनेका हुन् । यस बिषयमा मुख्य नेताहरु बक्ताको रुपमा सकेसम्म धेरै निर्वाचन क्षेत्रमा पुग्नुपर्ने भएको कारण समानुपातिक उमेद्वार बन्नु परेको अध्यक्ष लिङ्देनको भनाइ छ । संगठनका महासचिव अशोक चेम्जोङ लिम्बू मोरङको क्षेत्र नम्बर १ बाट र उपमहा सचिव भबिराज लिम्बू मोरङकै ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्ष उमेद्वार बनेका छन् ।
लिम्बुवान राज्य प्राप्तिको मुख्य माग राखेर आन्दोलन गर्दै आएको उक्त संगठनले १ नम्बर प्रदेमा प्रतिनिधिसभाको प्रत्यक्षमा २५ र प्रदेशमा ५० जना गरी जम्मा ७५ जनाले उमेद्वार उठाउने तयारी भइरहेको उपमहासचिव भबिराज लिम्बूले बिहिबार पत्रकार सम्मेलनमा बताए । उक्त प्रदेशमा प्रतिनिधिसभाको २८ र प्रदेशसभाको ५६ निर्वाचन क्षेत्र निर्धारण भएको छ ।
दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार र सात प्रदेश सहितको घोषित संविधानलाई अस्वीकार गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई आन्दोलन कै रुपमा लिने बताएको छ । ‘लिम्बुवान राज्यको माग र मुद्धा मरेको छैन ।’ अध्यक्ष लिङ्देनले भने ‘निर्वाचनलाई टेकेर आन्दोलनमा जाने निर्णय गरेका हौ ।’