भद्रपुर । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताल परिसर भित्रबाट पछिल्लो समयमा मोटरसाईकल र साईकल चोरी गर्ने समूहको बिगबिगी बढेको पाइएको छ । अस्पताल परिसरबाट सवारीसाधन चोरी गर्ने एक व्यक्तिलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएपछि यसको पुष्टि भएको हो । अस्पतालमा बिरामी हेर्न आउने सर्वसाधारणले पार्किङ गरी राखेको स्थानबाट सवारीसाधन चोरी गर्दै गरेको अवस्थामा मेचीनगर ६ सतिघट्टाका २७ बर्षिय सञ्जु सुवेदी पक्राउ परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । अस्पतालमा बिरामी हेर्न आएका बाह्दशी गाउँपालिका ७ गुुलोबारी बस्ने जयपाल राजवंशीको साईकल चोरी गर्ने क्रममा स्थानीयले सुवेदीलाई वुधवार विहान रंगेहात पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको वडाका इन्सपेक्टर कुल प्रसाद चौधरीले जनाएका छन् । साईकल धनी राजवंशीका अनुसार बिरामी हेरेर फर्किने बेला साईकलको ताल्चा फुटाइरहेको देखेपछि स्थानीयको सहयोगमा उनलाई पक्राउ गरेको जनाएका छन् । पक्राउ परेका सुवेदीले आफु राजमिस्त्री काम गर्ने गरेको बताए । सुवेदीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको चौधरीले बताए । अस्पताल परिसरबाट तीन वटा मोटरसाईकल र एक दर्जन बढी साईकल चोरी भइसकेको स्थानीय बताउँछन् । अस्पतालबाट चोरी भएको मोटरसाईकल मध्ये एउटा मोटरसाईकल बेबारिसे अवस्था फेला परेपनि अन्य सवारीसाधन अहिले सम्म फेला नपरेको प्रहरीले जनाएको छ । अस्पतावाट हराएका तीन ओटा मोटरसाइकल मध्ये विर्तामोड नगरपालिका ८ स्थित देउनियाका गंगा प्रसाद गौतमको रहेको पाइएको छ । गौतमले दिएको जानकारी अनुसार अस्पताल परिसर भित्रवाट मे ४ प ५१८८ नम्बरको होण्डा साइन चोरी भएको बताए । मोटरसाइकल हराएको विषयमा अस्पतालका मेडिकल सुपरिटेण्ड पिताम्बर ठाकुरले गैर जिम्मेवारी जवाफ दिएको गौतमले आरोप लगाएका छन् । चौकीदार अभावका कारण सवारी साधनको सुरक्षा गर्न नसकिएको बताउदै प्रहरीलाइ जानकारी गराउने बाहेक अन्य केहि गर्न नसकिने जवाफ डाक्टर ठाकुरले दिएको गोतमले बताए ।