भद्रपुर । नेपाल–भारतको सीमावर्ती नाकासंग जोडिएको झापाको भद्रपुर स्थित मेची नदीमा बाँसे पुल निर्माण नभए छठ पर्व खल्लो हुने गरेको पाइएको छ । दुवै देशका भक्तजनहरुको आवतजावतलाई मध्यनजर गर्दै विगत एक दशकदेखि छठ पर्वलाई लक्षित गरी नदीमा बाँसे पूल बनाउन थालिएको हो । बाँसे पूल बिना भद्रपुरको छठ पर्वको रौनकतामा कमि आउने भक्तजनको भनाइ छ । पर्वलाइ मध्यनजर गर्दै भद्रपुर नगरपालिका कार्यालय र मैथिल समाजकै पहलमा हरेक बर्ष नदीमा बाँसे पूल बन्ने गरेको छ । बाँसे पूलकै सहयोगले ब्रतालु भक्तजनहरु पूजा सामग्री लैजान र नदीको दुवै किनारका घाट पुग्न सहज हुने गरेको छ । यसबर्ष नगरपालिकाले बाँसे पूल बनाउन करिब डेढ लाख बजेट छुटाएको छ । १ सय ५० फिट लामो बाँसे पूलको काम बुधवार सम्म सम्पन्न हुने जनाइएको छ । अन्य समयमा ढुङ्गाको सहायताले आवत जावत हुने गरेको छ । बाँसे पुलसगै छठ पर्वको तयारीलाई तिव्रता दिइएको छ । गत साउन महिनामा आएको बाढीले नदीको धार परिवर्तन गरेपछि यसबर्ष व्रतालु तथा भक्तजनहरुको व्यवस्थापनमा कठिनाई उत्पन्न हुने भएको छ । नदीले धार परिर्वतन गरेपनि यसको व्यवस्थापनका लागि मैथिल समाज भद्रपुर लागि परेको समाजका अध्यक्ष रमेशचन्द्र झाले बताए । यसका लागि नदीमा अस्थायी बाँसे पुल बनाउने काम धमाधम भइरहेकोले बाँसे पुलको सहायताले भक्तजनहरु नदी पारी गएर पूजा आर्चना गर्ने उनको भनाइ छ । नेपालको झापा जिल्लाको मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु तथा भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउदै आएकोले भद्रपुरको छठ पर्वको नेपालमै छुटै विशेषता छ । भद्रपुर ५ स्थित देवीबस्ती सम्मको दुवै तर्फ गरी २ किलोमिटर लामवद्ध नदीका दुवै किनारमा ५ हजार बढी पुजा स्थल (घाट) बनाइने छ । सो दिन मेची नदीमा विजुलीबत्ती, केराको बोट, रंगविरङ्गी रिवन, विभिन्न किसिमका फुलले पूजा स्थल सजावट गरी नदीलाई नयाँ बेहुली झै सिङ्गारिन्छ । मेची नदीमा पूजास्थल (घाट) व्यवस्थापन देखि लिएर सरसफाई, बाटो मर्मत, पण्डाल, विजुलीबत्ती जडान, शौचालय, नेत्र ज्योति समाज भद्रपुरद्धारा निशुल्क पानी तथा चिया वितरण, स्वास्थ्य शिविर, अस्थायी सुरक्षा क्याम्प बनाउने लगायत कार्य धमाधम भइरहेको समाजले जनाएको छ । छठ पर्व मंगलबारदेखि सुरु भएपनि खोला तथा नदी किनारमा कार्तिक ९ गते बेलुका र १० गते विहान मनाइने छ । नेपालको जनकपुर पछिको दोस्रो स्थान ओगटन सफल भएसँगै छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान लगायत अन्य देशहरुबाट व्रतालु तथा भक्तजनको उल्लेखिनिय सहभागिता हुने गरेको छ । नदीमा मधेशी समुदाय बाहेक नेपाली, मुस्लिम, मारबाडी, बंगाली, राजवंशी लगायतका समुदायले पनि छठ पर्व साझा पर्वको रुपमा लिएर एक साथ मनाउदै आएका छन् । मेची नदीसहित झापाका देउनिया ,कनकाइ,विरिङ्ग, रतुवा लगायतका खोला तथा पोखरिमा पनि पर्वको तयारी अन्तिम चरणमा पुगेको पाइएको छ । मेची नदीमा मनाइने छठ पर्वलाई मध्यनजर गर्दैै वडा प्रहरी कार्यालय भद्रपुरले शान्ति सुरक्षा कडा पारिने जनाएको छ । सीमावर्ती क्षेत्र भएकाले भारतीय सुरक्षाकर्मीसंगको सहकार्यमा सुरक्षा व्यवस्था कडा बनाइने वडा प्रहरी कार्यालयका इन्सपेक्टर कुलप्रसाद चौधरीले बताए । छठ पर्वका दिन ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक भन्दा बढी प्रहरी आवश्यकता अनुसार परिचालन गरिने उनले बताए । व्रतालु परिवारका सवारीसाधन बाहेक अन्य सवारीसाधनलाई भन्सार गेटमा रोक लगाउने, बारुदजन्य पटका निषेध, केटी जिस्काउने तथा जाडरक्सी खाई होहल्ला गर्नेलाई पक्राउ गरी कार्वाही गरिने, सादा पोशाकमा प्रहरी परिचालित गर्नुका साथै विभिन्न स्थानमा प्रहरी विट राखेर सुरक्षा प्रदान गरिने उनले बताए ।