प्रमुख आयुक्त डा.यादवले आफू मधेसी मूलको र जातको यादव भएपनि राष्ट्रसेवक भएको बताए । उनले भने, आचारसंहिता पालना गराउने सवालमा सबैलाई समान दृष्टिले हेर्छु । त्यत्तिबेला मधेसी र यादव हो भनेर कसैले केहि नभन्नुहोला र सबैले आचारसंहिता पालना गर्नुहोला ।’ आफ्नो मान्छे हो छुट देला भन्ने अपेक्षा कसैको छ भने त्यो दिवास्वपन मात्रै हुने उनले बताए । कार्यक्रममा कांग्रेस जिल्ला सभापति दिनेश यादवले मंसिर २१ गते हुने निर्वाचनलाई केहि दिनका लागि सार्न आग्रह गरे । गठबन्धन बनाउन समय नपुग्ने उनको तर्क छ । प्रतिउत्तरमा प्रमुख आयुक्त डा. यादवले कुनै पनि हालतमा निर्वाचन सार्न नमिल्ने बताए । उनले उम्मेदवारी दर्ता भइसकेको समयमा निर्वाचन सार्नु अपराध हुने बताए । एमाले नेता सुखराम यादवले स्वतन्त्र उम्मेदबारलाई कुकुर जस्तो चुनाव चिन्ह दिएर आयोगले अपमान गरिरहेको बताए । जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले आगामी दिनमा यस्ता कुरामा ध्यान दिने बताए । अनलाइनखबर