सप्तरी/ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव निर्वाचन आचार संहिता पालना गर्न दलहरुलाई आग्रह गरेका छन् ।
गृहजिल्ला सप्तरी आएका यादवले जिल्लाको सुरक्षा अवस्था र चुनावको तयारीबारे लिए । लगतै राजनीतिक दलका प्रतिनिधी, निर्वाचन अधिकृत, सुरक्षा अधिकारीसँग भएको छलफलमा यादवले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।
‘सबैले आचारसंहिता पालना गर्नेछन् भन्ने आयोगको विश्वास छ’ उनले भने, ‘आचारसंहिता उल्लंघन गरे जिल्ला तहलाई केही भन्दैनौं । सिधै केन्द्रिय अध्यक्षसँग स्पष्टिकरण माग्छौं । एक लाखसम्म जरिवाना समेत तिराउँछौं ।’
उनले चुनाव चिन्ह अंकित टि-शर्ट, टोपी, गम्छा प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् । चुनावको समयमा बितरण गरिने चुनावचिन्ह अंकित पहिरनबारे उनको टिप्पणी छ, ‘गरीबलाई कहिले एक गम्छा पनि दिन नचाहनेहरु चुनावको बेला टि-शर्ट नै बितरण गर्छन् । यो कदापि हुन दिन्नँ ।’ पत्रकार र पर्यवेक्षकले पनि दिउँसो आफ्नो ड्युटी गर्ने तर, राति दलको झण्डा बोकेको पाइएको बताउँदै उनले सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।
अनलाइनखबर