इटहरी / इटहरी उपमहानगरपालिकाले सडकमा छाडिएका छाडा चौपाया हटाउन शूरु गरेको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै नगर फोहोर तथा कुरुप बन्दै गए पछि मंगलबार सडकमा छाडा छाडिएका १० वटा गाई र ४ वटा गोरु र दुई वटा बाख्रा नगरपालिकाले सडकबाट हटाएको इटहरी नगर प्रहरी प्रमुख जेवी राईले जानकारी दिए । त्यस मध्ये गाईलाई गौशालामा राखिएको र गोरु चारकोशे झाडीमा छाडिएको राईले बताए ।
ती गाईलाई इटहरीको बुढी खोला किनारमा रहेको गौशालामा जिम्मा लगाएको इटहरी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र धिमालले जानकारी दिए । नगरपालिकाको कान्जी हाउस नभएको र कान्जी हाउस हेरचाह गर्ने मान्छे नभएको कारण संकलन गरिएका चौपाया गौशालामा जिम्मा लगाएको धिमालले बताए । ती चौपाया धनीले प्रमाण सहित दावी गर्न आएमा जरिवाना तिरेर फिर्ता दिइने इटहरी उप–महानगरपालिकाले जनाएको छ । त्यसको लागि यातायात खर्च एक हजार रुपैयाँ सहित प्रत्येक दिनको पाँच सय रुपैयाँका दरले चौपायाको जरिवाना तिर्नु धिकालले बताए ।
इटहरीमा सक्रीय सामाजिक संस्थाको लामो सयमदेखिको दबाब दिदै आएका थिए । इटहरी नगर प्रहरी तथा कर्मचारीको सहभागितामा सडकबाट चौपाया हटाइएको थियो ।