शनिश्चरे/झापाको दमक नगरपालिकाको पहिलो नगर सभाबाट ९ वटा गौरवका योजना सहित चालु आर्थिक वर्षका लागि १ अर्व २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

नगरसभामा अर्थ प्रमुखको हैसियतमा नगर उपप्रमुख गीता अधिकारीले सोमबार चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् । कुल बजेटमा १३ करोड १९ लाख ९७ हजार १ सय २० रुपैयाँ आन्तरिक श्रोतबाट प्राप्त हुने अपेक्षा गरिएको छ । नगरको श्रोत अभिबृद्धिका लागि राजश्व संकलन तथा परिचालनलाई प्राथमिकता दिइएको बजेटमा उल्लेख छ ।

पूर्वमा नमूना नगरपालिकाको रुपमा स्थापित गर्न राष्ट्यि योजनामार्फत नै कार्यक्रम अगाडि बढाइएको अवस्थामा नगरसभाले ९ ओटा योजनालाई नगरगौरवका योजनाका रुपमा सुचिकृत गरेको छ । विश्वकै अग्लो बुद्धमुर्ती सहितको पार्क, पार्क सहितको भ्यु टावर, औद्योगिक क्षेत्र, बजारस्थित सुनटोलमा सपिङ् कम्प्लेक्स, पुरानो बजारमा नमूना बजार, मुक्तिघाट निर्माण, फाल्गुनन्द सभागृह, हरितनगर सहितको चक्रपथ, आकाशे पुल निर्माण गौरवका योजनामा परेका छन् । ति मध्ये आकाशे पुल निर्माण भई सञ्चालनमा आई सकेको छ भने नमूना बजार अन्तिम चरणमा पुगेको छ ।

नगर विकास योजना सार्वजनिक गर्ने क्रममा नगर प्रमुख रोमनाथ ओलीले नगरले २ वटा विशेष निर्णय गरेको जानकारी गराएका छन् । जसमा, धिमाल जातीलाई दमक नगरको पहिलो नागरिकका रुपमा लिदैं नगरका हरेक कार्यक्रममा धिमाल जातिका पूर्खाहरुको विशेष रुपमा स्मरण गरिने र राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा हरेक बर्ष कार्तिक १५ गते दमकमा स्थानीय विदा दिने कुरा रहेका छन् ।

अर्कातर्फ, स्थानीय सरकारको रुपमा कार्यान्वयनमा आएको नगरपालिकाले संवैधानिक अधिकार प्रयोग गरी ११ ओटा बिभिन्न कानून पनि निर्माण गरेको छ । जसमध्ये केहि ऐन तथा कार्यविधि रहेका छन् । १० वटा वडा रहेको नगरमा एक घर दुई बिरुवा चार गमला अभियानलाई प्रभावकारी बनाउने, हरित नगर समृद्ध दमकको उद्घोषलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लाग्ने कुरा जनाइएको छ ।