काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । काठमाडौँमा जारी आठाैँ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएकाे हो । भट्टले एक हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर (डिबी) क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन्।

अध्यक्षमा विजयी भएपछि प्रतिक्रिया दिँदै भट्टले आफ्नो कार्यकालमा एनआरएनको नयाँ अध्यायको शुरु हुने तथा स्थापनाकालदेखि पूरा नभएका ऐजेण्डा पूरा गर्ने बताए ।अब सबैलाई साथ लिएर अघि बढ्ने उनको भनाइ थियो । निर्वाचनमा एक हजार ८५४ मतदाता सहभागी थिए ।

चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ ।