तेह्रथुम/आठराई गाउँपालिका विकासका लागि १५ वर्षे गुरु योजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरु योजना तथा भौतिक योजना निर्माण गरिएको हो । बजारलाई पर्यटकीय आकर्षणको केन्द्र, खाने पानी तथा ढल व्यवस्थापन, होम स्टे निर्माणको अवधारणा लगायतका योजना गुरु योजनाको मुख्य उद्देश्यमा रहेको छ ।

व्यवस्थित बस पार्क, संक्रान्तिबजार–खाम्लालुङ–सोवुवा देउराली देखि गुफा पोखरी सडक निर्माण, सबै वडालाई समेट्ने गरी रिङरोड, सिंचाईका लागि सडक क्षेत्रमा ड्रेन निर्माण गुरु योजनामा समावेश भएको छ । सुख्खा सिजनमा आकाशे पानी संकलन, विद्युत लाइन विस्तार, प्राविधिक शिक्षालय, कृषि संकलन तथा दुध चिस्यान केन्द्र, हाटबजार क्षेत्रको व्यवस्थापनका साथै बस्ती विकास र भवन निर्माणका मापदण्ड गुरु योजनामा रहेको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए । संक्रान्तिबजारको पूर्वी क्षेत्रमा रहेको याकुम्बा गढीलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । गढीमा पर्यटक विश्राम स्थल सहितको भ्यू टावर निर्माणका लागि भौतिक योजना तथा शहरी विकास शाखामा निर्णय गरि पठाइएको गाउँपालिकाका अध्यक्ष लिम्बुले बताए ।

भौतिक विकास योजना निर्माणका लागि एडिए कन्साटेन्सिका विज्ञ मिलन बगाले र किरण जोशी सहितका सरोकारवाला र स्थानीयहरुको सहभागितामा योजना तयार पारिएको हो । गुरु योजनाका उद्देश्यहरुलाई गाउँपालिकाले समेत प्राथमिकतामा राख्ने बताइएको छ ।