पाँचथर/ सदरमुकाम फिदिममा शनिबार साबुन–पानीले हात धुनेलाई निशुल्क अण्डा खुवाइएको छ । साप्ताहिक रुपमा लाग्ने शनिबारे हटियामा साबुन–पानीले हात धुँदा र अण्डा खाँदा हुने फाइदाबारे सर्वसाधरणलाई बुझाउँन यसो गरिएको हो ।
शनिबारे हटियामा तरकारी बेच्न र किन्न आउँने दर्जनौंले साबुन–पानीले हात धोइ निशुल्क अण्डा खाएका हुन् । नेपाल जन उद्धार संघ र सुआहारा कार्यक्रमले विश्व अण्डा दिवश तथा हात धुने दिवशको अवशरमा अनौंठो लाग्ने यस्तो अवशर जुराएको हो । सर्वसाधरणलाई स्वास्थ्य र पोषणको महत्व बुझाउँन यस्तो कार्यक्रमको आयोजना गरिएको सुआहारा कार्यक्रमका संयोजक भरत शर्माले बताए ।
हटियामा आएका करीब पाँच सय जनालाई साबुन–पानीले हात धुन लगाइ अण्डा खुवाइएको नेपाल जनउद्धार संघ पाँचथरका अध्यक्ष बालकृष्ण ओझाले बताए । उनीहरुलाई यसले पुर्याउँने फाइदाबारे पनि जानकारी दिइएको थियो । हटिया आएका बाल–बालिकादेखि बृद्ध–बृद्धाले हात धोएर अण्डा खाएका थिए ।