इलाम/चुलाचुली गाउँपालिका इलामले आर्थिक वर्ष २०७४-०७५ को बजेट सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले कुल २३ करोड ५३ लाख ५१ अजारको बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको बजेटमा पुँजीगत खर्चतर्फ १२ करोड ६६ लाख ७८ हजार ६ सय रुपैंयाँ छुट्याइएको छ । त्यस्तै चालु खर्चतर्फ ३ करोड ४० लाख ३५ हजार ५ सय रुपैंयाँ तथा विषयगत तथा अनुदानतर्फ ७ करोड ४६ लाख ३७ हजार रुपैंयाँ छुट्याइएको हो । गाउँपालिकाले कृषि, पश’, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, जेष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदाय लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ ।

त्यस्तै सरसफाई कार्यक्रमलाई पनि आफ्नो नीति तथा कार्यक्रममा राखेको गाउँपालिकाले वडा नम्बर एकमा बहुभाषिक पाठशाला निर्माणलाई मुख्य कार्यक्रमको रुपमा राखेको छ । वडा नम्बर ४ को बालज्योति माविमा प्राविधिक शिक्षा संचालन गर्ने पनि कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले विद्युत नपुगेका सबै क्षेत्रमा विद्युत विस्तार गर्ने देखि सडक निर्माण तथा खोला तटबन्धनलाई पनि प्राथमिकतामा राखेको छ । जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, इलाम रोङ्ग गाउँपालिकाका अध्यक्ष शम्सेर राई लगायतको उपस्थिति रहेको थियो ।

चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला दाहालले स्वागत मन्तब्य राखेकी थिइन् ।