शनिश्चरे/कृषि सहकारीका क्षेत्रमा मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा पृथक पहिचान बनाएको उत्साही साना किसान कृषि सहकारी संस्थाको छैटौं चुनावी साधारणसभाले पुनः धनमाया गुरुङलाई नै अध्यक्ष चुनेर नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टिकाप्रसाद खतिवडा, सदस्यहरुमा अरुणा राई, घनश्याम भट्टराई, डम्बर चेम्जोङ, उत्तरा खड्का, मञ्जु भुजेल, केशव बराल, ललिता राई, मूना गौतम अधिकारी, देवीकुमारी कोइराला र अर्जुन खत्री रहेका छन् ।
नगरपालिकाका प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न कार्यक्रममा उत्कृष्ठ शेयर तथा कारोवार गर्ने सदस्यहरुलाई कृषिजन्य सरसामानहरु उपहार प्रदान गरिएको छ ।
०६७ सालमा स्थापित संस्थामा १३ वटा अन्तर समूह, २ सय ४९ वटा समूहमा गरी कुल १ हजार ३ सय ८० शेयर सदस्य रहेका छन् । संस्थाले पछिल्लो आर्थिक वर्षमा ८९ लाख ८९ हजार ९ सय ६३ रुपैयाँ कुल आम्दामी गरी आयकर कटाएर १० लाख ४७ हजार २ सय ५८ रुपैयाँ शुद्ध वचत नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । ०७४/७५ का लागि १ करोड १९ लाख ४५ हजारको आयव्यय अनुमान गरिएको छ । संस्थाले कृषकको सुविधाका लागि विउविजन, विषदी, मल विक्री गर्ने तथा समूह वचतका साथै वाल वचत, अन्तरसमूह वचत, पशुविमा वचत, सदस्य विमा वचत लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
उता, सोही नगरपालिकाको वडा नम्बर १० मा ०५८ सालमा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा आर्थिक वर्ष ०७३/७४ मा ५२ लाख ५० हजार ९ सय ५९ रुपैयाँको आयव्यय विवरण प्रस्तुत भएको छ । आगामी वर्षका लागि ४५ लाख २६ हजार १ सय ९७ रुपैयाँको आयव्यय प्रस्तुत भएको छ । लेखा प्रतिवेदनमा भनें यसअघि कृष्णप्रसाद घिमिरेबाट पेश्कीका नाममा चलाएको समूहको २ लाख २७ हजार ९ सय ७९ रुपैयाँ यथासीघ्र फस्र्याैट गर्न सुझाव दिइएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समूहका विपन्न, वालवालिका, अपाङ्गताभएका व्यक्ति, ज्येष्ठ नागरिकहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।