रुपन्देही । अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गर्ने कपिलवस्तुका एक गाडी चालक ६ लाख भारतीय रुपैयाँ सहित पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका ३ का ३० वर्षका सलिम मियाँलाई भारतबाट नेपाल ल्याउँदै गरेको ६ लाख भारतीय रुपैयाँ सहित इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो । मियाँ र नगद भारतीय रुपैयाँ आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग काठमाडौंमा सोमबार पठाइएको प्रहरीका इन्सपेक्टर सुवास गैरेले जानकारी दिए । विगत केही समयदेखि कपिलवस्तुमा भारतीय रुपैयाँको अवैध कारोबार बढेको सुराकीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । त्यसैगरी कृष्णनगर प्रहरीले सोमबार कुकुर भुक्का सीमानाकाबाट चोरी पैठारी गरी नेपाल ल्याउदै गरेको ३५ हजार बराबरको बेबारिसे कपडा फेला पारेको समेत इन्सपेक्टर गैरेले जानकारी दिए ।