काठमाडौँ/ मंगलबार शेयर बजार पाँच महिना यताकै न्यून बिन्दुमा पुगेको छ। शेयर बजार दोहोरो अंकले घट्दा सूचक १५०२.२० अंकमा ओर्लिएको छ।
गएको १० चैतमा शेयर बजार १४८६.०४ अंकमा थियो। त्यपछि बिस्तारै बढेको बजारले चैत ३० गते यस वर्षको सर्वाधिक १७०३.०३ अंक छोएको थियो। त्यसयता लगातार घटेको बजार पाँच महिना पहिलेको न्युन अंकमा फर्किएको हो। लाभांश घोषणाको सिजन सुरु भएदेखिनै घट्न थालेको शेयर बजार एक महिनामा १४२ अंकले घटिसकेको छ।
मंगलबार सूचक २१.०६ अंकले घटेको छ। सूचकसंगै कारोबार रकममा समेत संकुचन आएको छ। करिब एक अर्ब रुपैयाँको कारोबार हुँदै आएको बजारमा कारोबार रकम करिब ५७ करोडमा झरेको छ।
पछिल्लो समय शेयर बजारमा महिलाको उपस्थिति कम हुँदै गएको कारण बजार घटेको इन्भेस्टर फोरमका महासचिब बच्चुराम रिमालले जानकारी दिए।
बजारमा नियमनकरी निकायका पदाधिकारीहरुले शेयर खरिद बिक्री गर्न परिवारका सदस्यलाई ल्याउने गरेको खबर सार्वजनिक भएसंगै उनीहरुको बजारमा उपस्थिति पातलिँदै गएको छ। साथै उनीहरुले छानबिनको प्रक्रियामा परिन्छ भन्ने डरले बिक्री चाप बढाउँदा बजार घटेको रिमालको भनाई छ।
बजार बढ्दा लगानीकर्तालाई सचेत हुन आग्रह गर्ने नियामकले बजार घट्दा केहि नबोलेकोमा लगानीकर्ता आक्रोशित भएका छन्। तुरुन्तै लगानीकर्ताकोलागि नियामकले सम्बोधन गर्नुपर्ने रिमालको भनाई छ।
कारोबारमा आएका आठ समूहमध्ये सात समूहमा गिरावट देखिएको छ भने अन्य २।६१ अंकले बढेको छ । उत्पादनमूलक समूहमा कुनै फेरबदल भएन। बैंक १८.४८, होटल ४२.५३, विकास बैंक २९.८२, जलबिद्युत १५.५७, फाइनान्स १४.९ र बीमा १८५.१ अंकले घटेको छ।
मंगलबार युनाइटेड फाइनान्सको १९ प्रतिशत बोनस शेयर घोषणा र रणनीतिक साझेदार भित्र्याउने खवरको प्रभाव पर्दा बजारमा कम्पनीको प्रति शेयर मूल्य १० प्रतिशतले बढेको छ। यता कामना सेवा विकास बैंकका शेयरधनीले सबैभन्दा बढी करिव १० प्रतिशत गुमाएका छन्।