सुर्खेत/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताए ।

संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उनकाे मूल्याँकन थियो ।
पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत अाएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने दाबी गरे।
पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।”
उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गरे।
संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डको भनाइ थियो । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने, “भर्खरै संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।”
परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुन नदिन लागिपरेको समेत उनले बताए । प्रदेश नं ६ माओवादीको किल्ला भएको उनको दाबी छ ।
सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका करिब ५०० सदस्य सहभागी भएका छन् ।
प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्तिबहादुर बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, महेश्वर गहतराजलगायत सहभागी थिए । रासस