काठमाडौँ/ प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा उनलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत गएका देउवाको भ्रमण टोलीमा पत्नी आरजु राणा, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल सरकारका सचिव, निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, सचिवालयका कर्मचारी लगायत छन्।
पाँच दिने भ्रमण सकेर प्रधानमन्त्री आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री आजै भारतीय व्यापारीहरुको संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। भोलि बिहीबार भ्रमणको महत्त्वपूर्ण दिनमा भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका नेतासित भेट र प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा संयुक्त विज्ञप्ति जारी हुनेछन्।
पर्सिदेखि देउवाको भ्रमण घुमघाममा सीमित हुनेछ। उनी हैदरावाद र गया जाने छन्।