काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपीडितलाई राहतस्वरुप झण्डै ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ३४ लाख ९९ हजार २६० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीपीडितलाई पार्टीका सांसदहरुको एक महिनाको तलब दिने यसअघिको निर्णयअनुसार नै प्रधानमन्त्री राहत कोषलाई सो रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए ।
माओवादी केन्द्रका ८२ सांसद छन् । सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रिपरिषद्को निर्णयअनुसार नै राहत रकम उपलब्ध गराउने बताइएको छ ।
उनीहरुले अलग्गै प्रधानमन्त्रीलाई राहत रकम हस्तान्तरण गर्ने भएकाले सो रकम यसमा नजोडिएको प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन् ।