धरान/बहुमत नपुग्दा संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा अस्वीकृत भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामाको कुरा उठेको छ ।

नेकपा एमालेले सरकारले पेश गरेको संविधान संसोधन विद्येयक असफल हुनु संसदमा सरकार र प्रधानमन्त्री फेल हुनुजस्तै भएको बताउँदै अब प्रधानमन्त्रीलाई पदमा बस्ने नैतिकता गुमेको प्रतिक्रिया दिएको छ ।
एमाले बरिष्ठ नेता झलनाथ खनालले देउवा नेतृत्वको सरकारले ल्याएको संविधान संसोधन विद्येयक संसदबाट असफल भएपछि अब प्रधानमन्त्रीले पदमा रहिरहने नैतिकता गुमाएको जिकिर गरे । ‘सरकारको प्रस्ताव असफल भएपछि अब प्रधानमन्त्रीलाई पदमा बसिरहने नैतिकता छैन । भोलि नेपाली जनताले उहाँको राजीनामाको सामाचार सुन्न पाउनु पर्छ,’ खनालले भने ।
खनालले राष्ट्रघाती प्रस्ताव भएकोले संसदले त्यसलाई असफल बनाएको भन्दै यो नेपाली जनताको ऐतिहासिक जीत भएको टिप्पणी गरे ।
यसैबीच अहिले सामाजिक सञ्जालमा एमालेका नेता कार्यकर्ताहरुले अलिकति पनि नैतिकता भए भारत भ्रमण स्थगन गरी तुरुन्त राष्ट्रपतिसमक्ष राजीनामा बुझाउन चुनौति दिइरहेका छन् ।