काठमाडौं /नेपाल विद्युत् प्राधिकरणले ३२ औं वार्षिकोत्सव समारोह मनाइरहँदा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सामान्य लाग्ने केही जटिल निर्देशन दिएका छन् ।

बिहीबार काठमाडौंमा प्राधिकरणको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले सुरुमा प्राधिरणमा महशुल बुझाउन आउने सर्वसाधारणप्रति केही नयाँ परिवर्तनको महसुस दिलाउनुपर्ने भन्दै नमस्कार गर्नुपर्ने बताए । “सेवाग्राहीका कारण कर्मचारीहरुले तलब पाइराखेका छन् । त्यसो भएकाले पनि उनीहरुलाई सानादेखि उच्च पदस्थमा पुगेका सम्पूर्ण कर्मचारीहरुले नमस्कार गर्न आवश्यक छ,” उनले भने ।

उनले मुलुकभरका प्रत्येक काउन्टरअघि खानेपानीको साथै ट्वाइलेटको व्यवस्था गर्न निर्देशन दिए । सेवाग्राहीलाई सुविधाका लागि आवश्यक स्थानमा बेन्च राख्न, पान खाएर थुक्ने प्रवृत्ति अन्त्य गर्न, सबै कार्यालय एउटै रंगको बनाउन पनि उनले प्राधिकरणलाई निर्देशन दिए । “म देख्दैछु, कोठा–कोठामा चिया, खाना पकाउने गरिएको छ । त्यस्तो कार्य तुरुन्द बन्द गरियोस्, छुट्टै क्यान्टिनको व्यवस्था हुनुपर्छ,” उनले भने ।

एकजना ग्राहकले पनि विद्युतको वितरणलगायत सेवा पाइन भनेर गुनासो आएको सुन्नु नपर्ने व्यवस्था गर्न उनले प्राधिकरणका कर्मचारीलाई निर्देशन दिए ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इशारा गर्दै उनले अबको १० दिनभित्रै आफूले दिएको निर्देशन कार्यान्वयन भयो भएन अनुगमन गर्ने बताए ।

मन्त्री शाहीले प्राधिकरणले तत्काल गर्ने कार्यका सम्बन्धमा ३४ बुँदे श्वेतपत्र जारी गरेको जानकारी दिए । सोहीअनुसार मन्त्रालय र प्राधिकरण अघि बढ्ने उनको प्रतिबद्धता थियो ।

रासस