काठमाडौं/डेड वर्षअघि सामान्य चहलपहल हुने तथा गलत क्रियाकलापको केन्द्र भनेर मानिस पस्न र बस्न डराउने रत्नपार्कको परिचय अहिले फेरिएको छ । काठमाडौं महानगरपालिकाले डेढ वर्षअघि रत्नपार्कलाई स्तरीय पर्यटकीय गन्तव्य बनाउन भौतिक संरचना निर्माण, पार्कको सुन्दरीकरण, क्याण्टिन र निःशुल्क वाइफाईको व्यवस्था गरेपछि काठमाडौंको भीडबाट एकछिन सुस्ताउने र मनोरञ्जन गर्ने स्थान बनेको छ रत्नपार्क । अहिले दैनिक १ हजार जनासम्म रत्नपार्क जाने गरेको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । यसले महानगरको आयसमेत वृद्धि भएको उनले बताए । रत्नपार्कको आम्दानी अहिले वार्षिक १ करोडभन्दा बढी रहेको उनले जानकारी दिए । अहिले व्यक्तिगत रूपमा मात्र नभई सुटिङका लागि समेत ठाँउ लिने गरेको र यसले आय वृद्धिमा थप सहयोग पुगेको उनले बताए । रत्नपार्क प्रवेश शुल्कबापत प्रतिव्यक्ति २५, विद्यार्थीका लागि १५ रुपैयाँ र सुटिङका लागि समयअनुसार शुल्क राखिएको महानगरपालिकाले जानकारी दिएको छ । यसैबीच, काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रका विभिन्न पर्यटकीय स्थलमा निःशुल्क वाइफाई सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकालगायत विभिन्न नगरपालिकाका मेयर, उपमेयर तथा वडाअध्यक्षका उम्मेदवारले नगर, वडालाई निःशुल्क वाइफाईयुक्त बनाउने नारा जनतामा बाँडेका थिए । अहिले सोही नारालाई मूर्तरूप दिन काठमाडौं महानगरपालिका प्रारम्भिक तयारी गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले मुख्य पर्यटकीय क्षेत्रमा निःशुल्क वाइफाई राख्ने तयारी गरको सूचना अधिकृत आचार्यले जानकारी दिए । परीक्षणका रूपमा शुरूमा पशुपतिनाथ क्षेत्र, स्वयम्भू, वसन्तपुर दरबार स्क्वायर, हनुमानढोका, बौद्धनाथलगायत स्थानमा निःशुल्क वाइफाई सञ्चालनको तयारी भइरहेको आचार्र्यले बताए । वाइफाईसँगै यी स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा महानगरको छ ।