धरान/सुकुम्बासीहरुको भोट तान्नको लागि नेकपा माओवादी केन्द्रले धनीपूर्जाको नमुना पत्र बनाएर वितरण गरेको छ । आचारसंहिता विपरीत नमुना धनीपूर्जा विरतण कार्यलाई तत्कालै निर्वाचन कार्यालयले प्रहरी प्रशासनको सहयोगमा रोकेको छ । र, सम्बन्धित पार्टीलाई पनि रोक्नको लागि निर्देशन दिइएको धरानस्थित निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद महतले जानकारी दिए । शुक्रबार धरान–५ देउरालीमा वितरण गर्दै गरेको पाइएपछि वडा प्रहरी कार्यालय धरानको रहोबरमा उक्त कार्य रोकेको छ । कतिपय पार्टीहरुले नक्कली धनीपूर्जा विरतण गरिएको भन्दै तिब्र आलोचना गरेका छन् । तर, माओवादी केन्द्रमा मेयरका उम्मेदवार आइन्द्रबिक्रम बेघाले भने आफूहरुले जितेपछि ‘यस्तो नमुना धनीपूर्जा’ दिने भनेर नमुना धनीपूर्जा वितरण गरेको बताए । उनले आफूहरु धनीपूर्जा दिने निकाय पनि नभएको र माओवादीले त्यो नर्गने पनि बताए । ‘हामी धनीपूर्जा दिने निकाय पनि होइनौं । मतदाताहरुलाई जानकारीको लागि नमुना धनीपूर्जा बनाएर प्रतिबद्धता जनाएको हौं ।’ निर्वाचन आचारसंहित विपरीत जनतालाई भोट माग्नको लागि यस्ता गतिविधि गर्न नपाइने दाबी निर्वाचन कार्यालयले गरेको छ । पटक पटक यस्ता कार्य भइरहेमा कारबाहीसमेत हुने छ । कारबाहीमा बढीमा एक लाख रुपैयासम्म जरिवाना तोक्न सक्ने छ । त्यस्तै बारम्बार गरिरहेमा उम्मेदवारी रद्दसम्म गर्ने अधिकार निर्वाचन कार्यालयलाई रहेको प्रमुख महतले बताए ।