
अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक आक्रमणकारीले अन्त्येष्टि समारोहलाई लक्षित गरी विस्फोट गराउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । विस्फोटबाट दर्जनौँ घाइते भएका छन् ।
विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले बताए । हमलाकारीले अन्त्येष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै तीनवटा विस्फोट गराएका थिए ।
बुधबार बिहान राजधानी काबुलमा कूटनीतिज्ञहरूको आवासस्थानलाई लक्षित गरी भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ९० को मृत्यु भएको थियो । सो आक्रमणमा महिला र बालबालिकासहित तीन सय ५० भन्दा बढी घाइते भएका थिए ।
एक आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक सवारीसाधनलाई स्थानीय जान्बाक स्क्वायरमा विस्फोट गराएको थियो । उक्त विस्फोटका कारण ५० भन्दा बढी सवारीसाधन क्षतिग्रस्त भएका थिए ।
एजेन्सी