अङ्कारा/टर्कीको सेनाले आइतबार विहान इराकको उत्तरी क्षेत्रमा गरेको हवाई आक्रमणमा परी १३ जना लडाकुको मृत्यु भएको छ । आक्रमणका क्रममा मारिनेमा कुर्दिस वर्कर्स पार्टी (पिपिके)का लडाकुहरु रहेको सेनाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । उत्तरी इराकको अभासिन बास्यान क्षेत्रमा रहेका लडाकुलाई लक्षित गरी सेनाले लडाकु विमानबाट आक्रमण गरेको थियो । उनीहरुले लडाइको तयारी गरिरहेका बेला आक्रमण गरेको सेनाको दावी छ । सेनाले लडाकु बस्ने दुई ओटा ब्लकको घर, उनीहरुले नै प्रयोग गर्ने दुई ओटा चियापसल, हातहतियार लुगाएर राख्ने दुई ओटा सुरुङसहितको खाडल र आश्रयस्थल पनि भत्काइदिएको विज्ञप्तीमा उल्लेख छ । यसअघि शनिबार राति भएको अर्को एक छुट्टै आक्रमणमा थप १० जना लडाकु मारिएका छन् । सन् १९७८ मा स्थापना भएको पिकेकेका विरुद्धमा गत सन् २०१५ को जुलाईदेखि दक्षिणपूर्वी टर्की र उत्तरी इराकमा सुरक्षा कारबाही तिव्र पारिएको छ । टर्की, अमेरिका र युरोपेली सङ्घले पिकेकेलाई विश्वका आतङ्ककारी सङ्गठनको सूचीमा राखेका छन् । स्थानीय सञ्चार माध्यमले दिएको विवरणअनुसार पिकेकेको आक्रमणमा परी अहिलेसम्म टर्कीका सुरक्षाकर्मी, प्रहरी अधिकृत, गाउँले स्वयमसेवी सुरक्षाकर्मी गरी झन्डै छ सय जना मारिएका छन् । सोही अवधिमा झन्डै सात हजार पिकेकेका सदस्य टर्की र उत्तरी इराक भरीमा मारिएका छन् । रासस/सिन्ह्वा