काठमाडौं/ भ्याटिकन सिटीमा पोप फ्रान्सिससँग अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटघाट गर्दा उनकी पत्नी मेलानियाले कालो रंगको लामो बाहुला भएको लुगा लगाएकी थिइन् । अनि उनले टाउको स्कार्फले छोपेकी थिइन् ।

पोपसँग भेट्ने अन्य महिलाले पनि यस्तै कपडा लगाउने गर्थे । यो भेटघाटका बेलामा ट्रम्पकी छोरी इभान्काले पनि कपालमा कालो कपडा लगाएकी थिइन् । तर अचम्मको कुरा चाहिँ भ्याटिकन सिटीमा मेलानियाले टाउको छोप्दा मुसलमान देश साउदी अरबमा चाहिँ स्कार्फ लगाइनन् । उनले किन यसो गरेकी भनेर सामाजिक सञ्जालमा प्रश्नहरू उठाइएका छन् । मेलानियाकी प्रवक्ता स्टेफनी ग्रिशमले एक इमेलमा लेखिन्, ‘मेलानियाले भ्याटिकनको शिष्टाचार पालन गरेकी हुन् । बैठकमा उपस्थित महिलाहरूले लामो कालो कपडा लगाएका थिए अनि टाउको छोपेका थिए । साउदीमा यसो गर्नु जरूरी थिएन, त्यसैले उनले कपाल खुल्लै राखिन् ।’ साउदी अरब कट्टर मुसलमानी मुलुक हो र त्यहाँ महिलाहरूले अनिवार्य रूपमा स्कार्फ लगाउनुपर्छ । तर विदेशीहरूलाई ड्रेस कोडको बाध्यता छैन । केही विदेशी महिलाले आधिकारिक भ्रमणमा स्कार्फ लगाएका थिए भने केहीले लगाएनन् । यसअघिका प्रथम महिलाहरू हिलारी क्लिन्टन र लउरा बुशले पनि स्कार्फ नलगाइकनै साउदी भ्रमण गरेका थिए । जेन ह्याम्पटन कूकका अनुसार साउदी भ्रमणमा मेलानियाले स्कार्फ नलगाएपनि उनका हात र गोडा पूरै ढाकिएका थिए । मेलानियाको यात्रा धार्मिक नेताहरूकहाँ वा तीर्थस्थलमा थिएन । अनि संसारमा धेरै मुसलमान महिलाले शिर ढाक्दैनन् । ट्रम्प विदेशभ्रमणका क्रममा इजरायलको वेस्टर्न वाल पनि पुगेका थिए । यो यहुदीहरूको पवित्र तीर्थस्थल मानिन्छ । त्यहाँ इभान्का ट्रम्पले प्रार्थना गर्दा टाउको हल्का छोपेकी थिइन् । इभान्काका पति ज्यारेड कुशनर यहुदी हुन् । तर मेलानियाले चाहिँ त्यहाँ पनि टाउको ढाकिनन् । एजेन्सी