काठमाडौं/ अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको सम्बन्धमा एफबीआईले अनुसन्धान गरिरहेको छ ।

यसै क्रममा ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनरसम्म अनुसन्धानको दायरा पुगेको बताइएको छ । कुशनरले ट्रम्पको निर्वाचन अभियानमा गरेका काममाथि अनुसन्धान भइरहेको हो । अनुसन्धानका बारेमा जानकारी दिइएका अमेरिकी अधिकारीहरूका अनुसार त्यसमा तथ्यांक विश्लेषण सञ्चालन, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनसँग उनको सम्बन्ध र कुशनर आफैंको रुसीहरूसँगको सम्बन्ध पनि परेका छन् । तर कुशनर अहिले अनुसन्धानको लक्ष्य रहेको कुनै संकेत पाइएको छैन र उनले गलत काम गरेको आरोप पनि लागेको छैन । एफबीआईले कुशनरसँग कुराकानी गर्ने योजना बनाएको कुरा पनि प्रस्ट छैन तर अनुसन्धानकर्ताहरूले अनुसन्धानमा जानकारी दिएर उनले सहयोग गर्ने विश्वास लिएका छन् । कुशनरले ट्रम्पको निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए । एजेन्सी