इटहरी/इटहरीमै सामाजिक क्षेत्रमा सक्रिय रहेको स्वागत टोल विकास संस्थाको १२ औं स्थापना दिवसका अवसरमा आमाबुबाको उचित हेरचाह गर्ने छोरा बुहारी र पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

इटहरी–६ जुटविकास स्थित संस्थाको भवनमा आयोजित कार्यक्रममा पत्रकार हिमाल दाहाललाई नगद १५ हजार रुपैयाँसहित पदम– पवित्रा विष्ट अक्षयकोषबाट पुरस्कृत गरिएको हो । संस्थाका घरधुरी सदस्य एवम् फोटो पत्रकार तथा समाजसेवी दुर्गा बहादुर विष्टले बुबा आमाको नाममा राखेको दुई लाख रुपैयाँको अक्षयकोषबाट हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । यसै गरी पदम– पवित्रा अक्षयकोषबाट हरेक वर्ष प्रदान गरिदै आएको बाबु आमा सेवा सम्मान पनि प्रदान गरिएको छ ।
नगद १० हजार रुपैयाँको सो पुरस्कार इटहरी शिशिर टोलका ८४ वर्षीया नरबहादुर अधिकारीलाई उचित स्याहार गरे बापत छोरा बुहारी हरीबहादुर र भोजकुमारी अधिकारीलाई प्रदान गरिएको छ । दुर्गा विष्टले यी पुरस्कारका लागि संस्थामा दुई लाख रुपैयाँको अक्षयकोष राखेका छन् । कार्यक्रमका प्रमुख अतिथि इटहरी उप–महानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई तथा संस्थाकी अध्यक्ष भद्र थापा मगर तथा दुर्गाबहादुर विष्ट सहित अतिथिहरुले सो पुरस्कार प्रदान गरेका थिए ।
यसै गरी अध्यक्ष भद्र थापा मगरबाट खेलकुद प्रोत्साहन पुरस्कार, यज्ञबहादुर बस्नेतबाट दलित छात्रवृत्ती प्रोत्साहन पुरस्कार, कृषणा खड्काबाट ज्येष्ठ नागरिक सम्मान, गुणराज पराजुलीबाट एसएलसी उत्कष्ट प्रोत्साहन सम्मान, लेखना (चण्डिका) निरौलाबाट उत्कृष्ट सञ्चालक समिति सदस्य प्रोत्साहन सम्मान र मोहनप्रसाद गुरागाईबाट स्थानपना गरिएको अपाङ्ग सम्मान समेत वितरण गरिएको संस्थाले जनाएको छ । यी प्रोत्साहन सम्मानका लागि जनही एक/एक हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी टोल विकास संस्थाले बि.सं. २०७२ सालको प्रवेशिका परीक्षामा उत्कृष्ठ अङ्क सहित उतीर्ण भएका विद्यार्थीहरु बिकेस साह, सुप्रिया कट्वाल, बिसन घिमिरे रोशन घिमिरे र प्रनिशा थापामगरलाई जनही १ हजार रुपियाँ नगद सहित प्रशंसापत्र प्रदान गरिएको छ । बिगत झै स्वागत टोल विकास संस्थाले ७० बर्षमाथिका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने क्रममा यो बर्ष हर्कमनि लिम्वु, कृष्णप्रसाद पराजुली, कालीमाया गुरुङ र पदमबहादुर गुरुङलाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कार्यकारी अधिकृत राईसहित उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत, महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमृता सुब्बालगायत विभिन्न संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।