एजेन्सी/ अमेरिकी प्रान्त हवाइको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ६ मुस्लिम देशका नागरिकलाई अमेरिका आउनमा प्रतिबन्ध लगाउनेबारे रोकिदिएको छ।
अदालतका न्यायाधीश डेरिक वाटसनले मुस्लिम देशमा ट्रम्पको आदेशलाई लागू नगर्न निर्देशन दिँदै रोकि दिएको हो। योसँगै अमेरिकी राष्ट्रपति ट्रम्पलाई उक्त आदेश पालन गर्ने बाटो बन्द हुने अनुमान गरिएको छ।
सुनुवाइको दौरानमा अदालतले भनेको छ, 'राष्ट्रपतिको आदेश मुस्लिम समुदायको लागि विभेदकारी छ। यसको असर पर्यटन र विदेशी छात्रा र कामदारमा पनि बढी पर्छ।यस कारण यो लागू नगर्दा नै उपयुक्त हुन्छ।'
यता, राष्ट्रपति ट्रम्पले भने नयाँ ट्राभल भिसा चरमपन्थीलाई मात्रै रोक्ने बताएका छन्। हवाइका महान्यायाधिवक्ता एवं अमेरिकी न्याय विभागको तर्क सुनेपछि न्यायाधीश डेरिक वाटसनले यस्तो फैसला गरेको बीबीसीले जनाएको छ।
६ मार्चमा जारी गरिएको कार्यकारी ट्रम्पको आदेश अनुसार ६ मुस्लिम राष्ट्रहरु ईरान, लीबीया, सिरिया, सोमालिया, सूडान तथा यमनका नागरिकलाई १० दिन र शरणार्थीलाई १२० दिन अमेरिका प्रवेशमा रोक लगाएका थिए। यसपछि विश्वभरका मुस्लिम लगायतका राष्ट्रहरुले ट्रम्पको यो आदेशलाई चर्को आलोचना गरको थियो।