काठमाडौं / छिमेकी मुलुक भारतले नेपाली सीमासम्म निःशुल्क एलपीजी ग्यासको पाइपलाइन विस्तार गरिदिने प्रस्ताव गरेको छ । उत्तर प्रदेशमा गरीब परिवारलाई निःशुल्क ग्यास पाइपलाइप जोड्ने उज्वल नामक कार्यक्रमको सफलतापछि त्यस्तै खालको योजना नेपालमा पनि लागू गराउन मोदी सरकारले सहयोग गर्ने प्रस्ताव ल्याएको हो ।
आपूर्ति मन्त्री दीपक बोहरा र भारतीय तेलमन्त्री धर्मेन्द्र प्रधानबीच दिल्लीमा भएको छलफलका क्रममा धर्मेन्द्रले नेपाली सीमासम्म ग्यास पाइपलाइन विस्तारमा सहयोग गर्न भारत तयार भएको बताएका हुन् । उक्त ग्यास पाइपलाइन विस्तारमा २०० करोड बजेट लाग्ने बताइएको छ ।
‘नेपाल– भारतबीच सन् १९७४ मा इन्धन आपूर्ति सम्झौता भएको छ । नेपालमा इन्धन आपूर्तिमा भारतको कुनै व्यापारिक स्वार्थ छैन’, छलफलका बोहारासँग धर्मेन्द्रले भने । नेपाल– भारतबीच रोटीबेटीको सम्बन्ध रहेकाले नेपालमा पनि सहयोग गर्ने मात्रै भारतीय चाहना भएको उनको भनाई छ । साथै नेपाल -भारतबीच तेल आपूर्तिसम्बन्धी समयवधि थप पाँच वर्षको लागि नविकरण समेत गरिएको छ । नेपालमा बढ्दो चिनियाँ प्रभावलाई रोक्न नयाँ दिल्लीले नेपालका लागि यस्तो आकर्षक प्रस्ताव गरेको टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा जनाएको छ । गत वर्ष भएको मधेस आन्दोलन र भारतीय नाकाबन्दी पछि नेपालमा भारत विरोधी भावना समेत बढिरहेको सन्दर्भमा त्यसलाई मत्थर पार्न दिल्लीको यो रणनीतिक योजना हुनेसक्ने औंल्याइएको छ ।
भारतीय नाकाबन्दीपछि नेपालले चीनसँग व्यापार र इन्धन सम्झौता समेत गरेको थियो । तर आपूर्तिमा भौगोलिक कठिनाइको कारणले गर्दा चीनबाट इन्धन ल्याउन समस्या भएको थियो ।