डिसी/भ्रमण, ब्यापारिक वा आफन्त भेट्ने उद्धेश्यले अमेरिका जान चाहने विदेशी नागरिकका लागि अब अमेरिकी दूतावासबाट भिसा प्राप्त गर्न झनै कठिन हुने भएको छ।

न्यूयोर्क टाइम्सका अनुसार नवनिर्वाचित राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले आफ्नो चुनावी प्रतिबद्धता अनुसार अमेरिका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेका छन्। उनले संसारभरका अमेरिकी दूतावासहरुमा त्यस्तो निर्देशन पठाएका छन्। गत साता विदेशमन्त्री रेक्स टिलरसन्ले अत्यन्त कडा ‘सुरक्षा जाँच’ पछि मात्र भिसा दिनुपर्ने निर्देशन अमेरिकी दूतावासलाई सर्कुलर गरेका थिए।

अस्ट्रेलिया, न्युजिल्याण्ड, जापान, दक्षिण कोरिया, युरोपका मुलुकलगायत परम्परागत रूपले अमेरिकाको सहयोगी ३८ राष्ट्रहरुका हकमा भने उक्त निर्देशन लागू हुने छैन। ती मुलुकका नागरिकले सजह ढंगले अमेरिकाको भिसा प्राप्त गर्दै आएका छन्। यसअघि ट्रम्प सरकारले ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश गर्न बन्देज गर्ने निर्णयलाई अदालतले रोकेको छ।

समाचार संस्थाहरुका अनुसार मार्च १० देखि मार्च १७ को अवधिमा अमेरिकी विदेश मन्त्रालयले आफ्ना दूतावासलाई भिसा सम्बन्धी ४ वटा कुटनीतिक निर्देशन पठाएको थियो। निर्देशन अनुसार भिसा निवेदकलाई अमेरिकी दूतावासका कर्मचारीले उनीहरुको पृष्ठभूमि र सामाजिक सञ्जालको इतिहाससमेत हेर्नेछन्। विशेषतस् उनीहरुले भिसा निवेदक इस्लामिक आतंककारी संस्था आइएसले नियन्त्रण गरेको स्थान गएको छ वा छैन भन्ने बारे हेर्नेछन्। अमेरिकी अधिकारीका अनुसार उक्त निर्णयको कोपभाजनमा अमेरिका प्रवेश गर्न चाहने धेरै मानिस पर्नेछन्। त्यसले भिसा प्रक्रिया ढिलाई मात्र होइन भिसा पाउनै कठिन हुनेछ। सन् २०१६ मा अमेरिकाले १ करोड विदेशी नागरिकलाई भिसा दिएको थियो।