काठमाडौं/ व्यवस्थापिका संसदको विकास समितिले भूकम्पपछिको पुनर्निर्माणका लागि झण्डै ६ खर्ब रुपैयाँ अपुग देखिएको भन्दै सोको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले पुनर्निर्माणका लागि थप ५ खर्ब ८८ अर्ब रुपैयाँ रकमको जोहो गर्न सरकारलाई निर्देशन दिएको हो ।भूकम्पपछिको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय दातृ समुदायबाट प्रतिवद्धता व्यक्त गरिएको रकम करीब ३ खर्ब ५० अर्ब रुपैयाँमात्र देखिएको तर पुनर्निर्माण सम्बन्धी पञ्चवर्षीय योजनाको खाकाले ९ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएकोले अपुग रकमको व्यवस्थापन गर्न समितिले निर्देशन दिएको हो ।

‘प्रतिवद्धताअनुरुप सबै रकम प्राप्त भएको अवस्थामा अपुग हुने देखिएको रकमको व्यवस्थापन गर्न भनिएकोमा सरकारले हालसम्म उक्त रकमको जोहो गर्न नसकेको देखिंदैन’, समितिको निर्णयमा भनिएको छ, ‘पुनर्निर्माण र पुनस्र्थापनाका लागि नपुग हुने रकमको प्रवन्ध यथाशीघ्र गर्न गराउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्रधिकरणलाई निर्देश गर्दछ ।’