साना/ सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् ।

डुङ्गामा झन्डै १५० जना यात्रु चढेको अन्तरराष्ट्रिय रेडक्रस समितिले शुक्रबार जनाएको छ ।

“होडेइडा नजिकै गएराति आक्रमण भएपछि महिला र बालबालिका कराएका थिए,” रेडक्रसद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

आक्रमणपछि ३३ जनाको मृत्यु भएको, २९ जना घाइते भएको पाइएपनि अन्य यात्रु कोही हराएका र कोही स्थानीय उद्धारकर्मीको नियन्त्रणमा रहेको हुनसक्ने व्यक्तव्यमा जनाइएको छ ।

यो घटनाको दृश्य विभत्स थियो, मैले धेरै महिला, पुरुष र बालबालिका मारिएको देखेँ, साथै गम्भिर घाइते भएको देखेँ, रेडक्रसका इरिक क्रिष्टोफर वेसे भने । उनले भने, “सोमालिया र यमनको द्वन्द्वबाट भागेका शरणार्थी नै घटनामा परेका छन् ।” हुथी नियन्त्रीत सावा समाचार संस्थाले घटनाका बारेमा अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी नलिएको जनाएको छ । सानामा रहेको अन्तरराष्ट्रिय आप्रवासी सङ्गठनका प्रवक्ता सेवा अल मौलिमीले बिहीबार राति भएको सोमालियाका शरणार्थीको यात्राका बारेमा सङ्गठनलाई कुनै जानकारी नभएको सिन्ह्वालाई बताए । शरणार्थी सुडानतर्फ जाँदै गरेको सङ्गठनलाई धेरैपछि मात्रै थाहा भएको उनले बताए ।

-सिन्ह्वा