मनिला/ फिलिपिन्सको सरकार र ४८ बर्षदेखि विद्रोह गरिरहेको कम्युनिस्ट पार्टीका बीचमा शान्तिवार्तालाई फेरि अगाडि बढाउने सहमति भएको छ ।

फिलिपिन्सको राष्ट्रपतिका शान्ति प्रक्रिया सम्वन्धि सल्लाहकार जेसुस डुरेजाले अप्रिलको पहिलो हप्ता शान्तिवार्ता सुरु गर्नुभन्दा अगाडि दुवै पक्षबाट युद्धविराम गर्ने सहमति पनि भएको जानकारी दिएका छन् । आफ्नो फेसबुक पेजमा उनले लेखेको वक्तव्यमा चाँडोभन्दा चाँडो त्यसका लागि एक अर्कालाई जानकारी गराउने सहमति भएको पनि उल्लेख गरिएको छ । “म खुसी व्यक्त गर्न चहान्छु कि, फिलिपिन्स सरकार र कम्युनिस्ट पार्टीका बीचमा शान्तिवार्ता गर्ने सहमति भएको छ, योसँगै अवस्था फेरि सही बाटोमा फर्किएको छ,” डुरेजाले लेखेका छन् । दुवै पक्षले पाँचाैँ चरणको औपचारिक शान्तिवार्ता आउँदो जुनमा गर्ने सहमति समेत गरेका उनले जानकारी दिए । उनले उनीहरूसँग अनौपचारिक शान्तिवार्ता भने सरकारले मार्च १० र ११ तारिखमै नेदरल्याण्डको उट्रेचमा गरेको बताए । सरकारले सन् १९६९ देखि विद्रोह अन्त्य गर्ने प्रयास गरिरहेको थियो । सन् १९८० को दशकमा फिलिपिन्सको द्वन्द्व शिखरमा पुगेको थियो।

-सिन्ह्वा