धरान/धर्मपुत्रीको रुपमा पालिएकी १३ वर्षीया किशोरी अनुशा राईले बारम्बार आत्महत्याको प्रयास गरेको प्रारम्भिक पोष्टमार्टममा देखिएको छ । उनको बाँया हातको नाडीको भागमा ३–४ पटक धारिलो हतियारले काटेको पुरानो दाग देखिएको छ । जुन, आत्महत्याको प्रयासको कारण हुन सक्ने पोष्टमार्टममा संलग्न चिकित्सकहरुले बताएका छन् । बच्ची मानसिक तनावमा भएको कुरालाई उनको बाँया हातको पुरानो दागहरुले पुष्टी गर्न सकिने आधारहरु रहेको चिकित्सक बताउँछ । धरान प्रहरीलाई उपलब्ध गराएको रिपोर्टमा उनको शरीरमा विभिन्न भागहरुमा पुरानो घाउका दागहरु रहेकाले पनि उनले आत्महत्याको प्रयास गरेको खुल्न आउने चिकित्सकहरुले बताएका छन् । नाम नछाप्ने शर्तमा एक चिकित्सकले यस अघि बच्चीले पटक पटक आफूलाई मार्ने प्रयास गरेको बताए । किनकी बाँया हातमा धारिलो हतियारले काटेको दाग देखिनुले पनि उनी मानसिक तनावमा रहेको कुरालाई पुष्टि गर्ने चिकित्सकहरुले बताए । किशोरीले फागुन १७ गते विषादी सेवन गरेर शंकास्पद रुपमा मृत्युवरण गरेकी थिइन् । त्यही विषयलाई लिएर स्थानीयबासी तथा वाल अधिकारकर्मीहरुले साथै मृतक अनुशाको पिता जीतबहादुरलेसमेत कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् । यस विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको बताउँदै आइरहेको छ । आक्रोसित स्थानीयबासीहरुले धर्मपुत्रीको रुपमा पाल्दै आएका बलिमान राई र पदमकुमारी राई दम्पतीको घर तोडफोड तथा आगजनीको प्रयास गरेका थिए । उक्त प्रयासपछि सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्दै आइरहेको छ । १३ वर्षीय किशोरीको भिसरा तथा भेजाइनल स्वाब प्रहरीलाई बुझाइसकेको छ । उक्त कुराहरुबाट विषादी सेवन गरेर मृत्यु भएको हो/होइन र बलात्कार गरेको हो/होइन भन्ने पुष्टी गर्नको लागि पनि भिसरा र भेजाइनल स्वाब प्रहरीलाई बुझाइएको हो । उक्त भिसरा र भेजाइनल स्वाब प्रहरीले प्राप्त गरिसकेको र त्यो काठमाडौैं पठाउने प्रक्रियामा रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । भिसराको रिपोर्ट नआइञ्जेलसम्म यसै भएको भन्न सकिने अवस्था नहरेको बताए । यसैबीच राई दम्पतीको घर तोडफोड तथा आगजनी गर्ने १० जनालाई बिहीबार र शुक्रबार गरी नियन्त्रणमा लिएको छ । बिहीबार ४ जनालाई नियन्त्रणमा लिएको छ भने शुक्रबार बिहान ६ जनालाई नियन्त्रणमा लिएको डिएसपी खतिवडाले बजनाए । भिसरा र भेजाइनल स्वाबको रिपोर्ट नआइञ्जेलसम्म ‘कम्प्लिट रिपोर्ट’ नहुने प्रहरी बताउँछ ।