लहान/‘शिक्षा, स्वास्थ र समृद्धता– बालमैत्री आचरण पिप्रापश्चिमवासीको प्रतिबद्धता’ भन्ने नाराका साथ शनिबार उदयपुरसंगासीमा जोडिएको सप्तरीको उत्तरवर्ती पिप्रापश्चिम गाविसलाई दुई नम्बर प्रदेशमा पहिलो स्थानीय शासन प्रवद्र्धन बालमैत्री गाविस घोषणा गरिएको छ । जिल्ला विकास समिति सप्तरीको सहयोगमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले एक समारोहका बीच पिप्रापश्चिम गाविसलाई बालमैत्री गाविस घोषणा गरेका हुन् ।

कार्यक्रममा उनले देशका कुनैपनि बालबालिका शिक्षा, स्वास्थजस्तो आधारभूत आवश्यकताबाट वञ्चित नहुन् भन्ने उद्देश्यका साथ सरकारले गाविसहरुलाई बालमैत्री घोषणा गरेको बताए । बालमैत्री गाविस घोषणा गरेर मात्र नहुने र त्यसको कार्यान्वयनमा पनि लागिरहनुपर्ने राज्यमन्त्री जवेगूले बताए । कार्यक्रममा ‘हातमा सुनौलो भविष्यको आधार– बालमैत्री व्यवहार, बालअधिकार हामी सबैको सरोकार’ भन्ने नारासहित विद्यार्थीहरुले र्याली प्रदर्शन गरेका थिए ।

कार्यक्रममा तराईको झाँकी तथा थारु नृत्य समेत देखाइएको थियो । पिप्रापश्चिम गाविस २ नम्बर प्रदेशमा पहिलो, पूर्वाञ्चलमा तेस्रो र नेपालमा आठौं बालमैत्री गाविस घोषणा भएको स्थानीय विकास अधिकारी सुदेव पोखरेलले बताए । आठ सय ९६ घरधुरी रहेको पिप्रापश्चिममा चार हजार पाँच सय पैंतालिस जनसङ्ख्या रहेको र त्यसमा १८ वर्षमुनिका बालबालिकाको सङ्ख्या १७ सय १७ रहेको गाविस सचिव टेकबहादुर खड्काले बताए । कार्यक्रममा सभासद्, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।