[caption id="attachment_29334" align="aligncenter" width="800"] online-sewa Blastkhabar[/caption]

काठमाडौं/ सरकारले वैदेशिक रोजगारीमा जानेका लागि राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको अनलाइनबाट श्रमस्वीकृति सेवाग्राहीलाई राहतभन्दा बढी सास्ती भएको छ ।  सरकारले अनलाइन श्रमस्वीकृतिका लागि पूर्ण रूपमा तयारी नगरी उक्त सेवा सञ्चालनमा ल्याएका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको हो ।

वैदेशिक रोजगारीमा जानेहरूलाई छिटो र सहज सेवा दिने भनेर शुरू गरिएको अनलाइन सेवा आफूहरूका लागि झन् झन्झटिलो, खर्चिलो र धेरै समय लाग्ने भएको गुनासो सेवाग्राही बताउँछन् । अनलाइनबाट श्रमस्वीकृति पाइने भएकाले छिट्टै हुन्छ भनेर विमान चढ्नुभन्दा पाँच घण्टाअघि मात्रै आएका चितवनका हिराबहादुर चौधरीको विमान नै छुट्यो ।  साउदी अरबमा दुई वर्षको बसाइपछि दुई महिना बिदामा स्वदेश आएका चौधरीले भने, ‘समाचारमा श्रमस्वीकृतिका लागि लाइन बस्नु नपर्ने र आधा,एक घण्टामै श्रमस्वीकृति पाइन्छ भन्ने सुनेर आएँ तर कहाँ पाउनु समाचारमा भनेजस्तो गरी श्रमस्वीकृति, टिकट नै छुट्यो, अब कसरी जाने ?’

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकालले अहिलेको युगमा अनलाइनबाट श्रमस्वीकृति दिनुको विकल्प छैन, हामी यसको विरोधी पनि होइन तर सरकारले यस विषयमा पूर्ण रूपमा तयारी नगरी सस्तो लोकप्रियता कमाउन यो सेवा शुरू गर्दा सेवाग्राही झन् समस्यामा परेको बताए ।

यता वैदेशिक रोजगार विभाग ताहाचलस्थित श्रम कार्यालयका प्रमुख वीरेन्द्र भारतीले भने अनलाइन श्रमस्वीकृति दिन परीक्षणकालमै भएकाले पनि काम गर्ने क्रममा केही ढिला भएको स्वीकार गरे ।