काठमाडौं/ संविधान संशोधन र निर्वाचन मिति घोषणमा सहमतिको पहलस्वरूप प्रमुख तीन दलका शीर्ष नेतृत्वबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । मंगलबार अबेर रातिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो ।
संविधान संशोधनमा केही लचक बनेको एमालेले निर्वाचनको मिति घोषणाका लागि सरकारलाई दबाब दिदै आएको छ । मंगलबारको छलफलमा एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा लचकता देखाउने संकेत गरे पनि कुनै बहानामा चुनावको मिति तोक्न ढिलाइ गरे मान्य नहुने धारणा राखेका थिए । उनले चुनावपछि संविधान संशोधन गर्न सकिने बताएका थिए ।
तर, कांग्रेस सभापति देउवाले एमालेले संसद् खुलाउन र चुनावको मिति घोषणा हुनुअघि नै संविधान संशोधनमा सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । मधेसी मोर्चासँगको सम्बन्धमा सुधार भएको निष्कर्ष निकालेको एमालेले संविधान संशोधनप्रति पनि लचकता अपनाउने नीति लिएको बताइएको छ ।मधेसी मोर्चाले भने संविधान संशोधन नभई चुनावको मिति तोके आन्दोलनमा जाने चेतावनी दिइसकेको छ । जसले गर्दा कसरी जाने भन्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा दुई दिनदेखि गम्भीर छलफल भइरहेको हो ।
शीर्ष तीन दलका नेताको बैठक बस्नुअघि बुधबारै बिहानै प्रधानमन्त्री प्रचण्डले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग करिब आधा घन्टा बालुवाटारमा छलफल गरेका थिए । आयोगले आगामी जेठ १ र २१ गते स्थानीय निर्वाचन गर्ने प्रस्ताव सरकारलाई गरे पनि दलीय सहमति हुन नसक्दा घोषणा भने हुन सकेको छैन । प्रमुख आयुक्त यादवले आगामी फागुन ८ गतेभित्र निर्वाचन मिति घोषणा भए प्रस्तावित मितिमा निर्वाचन गर्न सकिने प्रधानमन्त्रीलाई जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
तीन दलको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्ड पाँचथर जिल्लाको भ्रमणमा जाँदैछन् । उनले पाँचथरमा निर्मित हेवा खोला जलविद्युत आयोजनाको उद्घाटन गर्नेछन् भने दिउँसो माओवादी केन्द्रले आयोजना गर्ने आमसभामा सम्बोधन गर्ने कार्यतालिका छ ।