चितवन/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले स्थानीय तहको टुङ्गो नलागेकाले सङ्क्रमणकालीन व्यवस्थाअनुसार निर्वाचन गराउनुपर्ने बताएका छन् ।
नेपाल शिक्षक सङ्घको आठौँ जिल्ला अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
संविधान जारी भइसकेपछि यसको कार्यान्वयन महत्वपूर्ण रहेको भन्दै उनले संविधान जोगाउनका लागि पनि निर्वाचनमा जानु आवश्यक रहेको विचार व्यक्त गरे । स्थानीय तहको टुङ्गो नलागे निकायगत रुपमा भए पनि निर्वाचन हुनुपर्ने उनको भनाइ थियो ।
संविधान कार्यान्वयनका लागि शिक्षकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले बुद्धिजीवी सङ्गठन समाजमा गएर संविधानका बारेमा जानकारी गराउनु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल शिक्षक सङ्घकी केन्द्रीय उपाध्यक्ष विष्णुदेवी पाण्डे, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, अन्जनी श्रेष्ठ, नेपाल शिक्षक सङ्घका केन्द्रीय महासचिव राजेन्द्र पौडेललगायतले बोलेका थिए । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिँदै छ । सङ्घको जिल्लामा एक हजार ६८६ जना सदस्य रहेका छन् ।
रासस