
पोखरा/ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका बारेमा अध्ययन अवलोकन गर्न इच्छुक जो कोहीलाई पनि सुविधा पु¥याउने उद्देश्यले यहाँ पुष्पलाल अध्ययन केन्द्र भवन निर्माण गरिने भएको छ ।
पोखरा उपमहानगरपालिका–२३ फेदीपाटनमा संस्थाले खरिद गरेको छ आना जग्गामा रु एक करोड २२ लाखको लागतमा सुविधा सम्पन्न पक्की भवन बनाइनेछ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् प्रदेश नं ४ का संयोजक किरण गुरुङले सो भवनको आज शिलान्यास गर्दैै साम्यवाद र लोकतन्त्रका प्रेरणादायी नेता पुष्पलाललाई वर्षमा दुई दिन मात्र सम्झेर नपुग्ने बताए । सरकारले संविधान कार्यान्वयनमा देखाएको उदासिनताले मुलुक सङ्कटमा पर्ने बताउँदै उनले नेपाली जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने बताए । पुष्पलाल अध्ययन केन्द्र नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले भवनमा पुष्पलालका बारेमा अध्ययन र अनुसन्धानका लागि पुस्तकालय निर्माण गरिने बताए । स्थानीय जनताको सहभागितामा सो क्षेत्रमा रहेको लगभग २०० रोपनी जग्गाको संरक्षण गर्दै सहिद स्मृति उद्यान, बाल उद्यान, वनभोज स्थलसहित बगैँचाजस्ता विभिन्न भौतिक संरचना तयार गरी आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धन गरिने योजना रहेको जानकारी दिए। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् सांसद टुकराज सिग्देलले केन्द्रले सुरु गरेको नविनतम् कार्यका लागि सबै पक्षको सहयोगको अपेक्षा गर्दै नवनिर्मित आधुनिक भवन उपयोगी हुने बताए । कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले पुष्पलाल अध्ययन केन्द्रको भवन निर्माणका लागि व्यक्तिगत रुपमा रु २५ हजार सहयोग गर्ने वचन दिए ।रासस