काठमाडौँ/ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकार एक वर्षभित्र तीनवटै तहको निर्वाचन गरिसक्ने तयारीमा अगाडि बढेको बताए ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा एन्ड्रयु पार्मलीसँगको आजको भेटमा उनले संविधानको कार्यान्वयनका क्रममा निर्वाचनलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।

अर्थमन्त्री महरा र पार्मलीबीच नेपाल र बेलायतबीच रहँदै आएको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए । सो अवसरमा अर्थमन्त्री महराले बेलायत सरकारबाट रहँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

जवाफमा लर्ड मेयरले नेपालको सद्भावप्रति आभार व्यक्त गर्दै संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रिया टुङ्ग्याउनका लागि बेलायत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

रासस