धरान / सुनसरीका दक्षिणी गाविसहरू अमडुवा, कप्तानगञ्ज, घुस्कीलगायतमा शीतलहर प्रभावित विपन्न परिवारहरूलाई आइतबार कम्बल वितरण गरिएको छ ।  अमडुवा गाविसमा १५३, कप्तानगञ्ज गाविसमा १५५ र घुस्की गाविसमा १४२ थान गरी ४५० थान कम्बल वितरण गरिएको थियो । सम्बन्धित गाविसहरूको गाविसस्तरीय विपद् व्यवस्थापन समितिको समन्वय र सामुदायिक विकास कार्यक्रमको सहयोगमा सुरक्षा निकाय र समाजसेवीहरूको अगुवाइमा कम्बल वितरण गरिएको हो । कार्यक्रम गर्ने निर्णय जिल्ला दैवी प्रकोप उद्धार समितिले गरेको थियो । समुदायमा आधारित विपद् व्यवस्थापन समितिले शीतलहर प्रभावित व्यक्तिहरूको सूची तयार गरी गाविसमा बुझाएका थिए । सो सूची गाविसस्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन गरिएको थियो ।