दमक/लिम्बूवान प्राप्तिका लागि सङ्घीय आन्दोलन आवश्यक भएको विचार राख्दै शनिबार अर्को पार्टी घोषणा गरिएको छ ।
केही समयअघि दमकमा भएको सङ्घीय लिम्बूवान पार्टीको महाधिवेशनमा सञ्जुहाङ पालुङ्वालाई नेतृत्वमा चयन गर्दा पार्टीमा लिम्बूमात्र हावी भएको बताउँदै बाहिरिएका कमल छाराहाङको नेतृत्वमा लिम्बूवान पक्षधर नयाँ दल घोषणा भएको हो ।
छाराहाङ समूहले शनिबार यहाँ औपचारिक कार्यक्रम गर्दै लिम्बुवान मुक्ति मोर्चा (सङ्घीयवादी) नाम गरेको नयाँ पार्टी घोषणा गरेको हो । यसअघि वीर नेम्बाङले स्थापना गरेको लिम्बूवान मुक्ति मोर्चामा ‘सङ्घीयवादी’ थपेर छाराहाङले नयाँ पार्टी खोलेका हुन् । भेडेटार बैठकमा भएको सहमतिअनुसार सङ्घीय लिम्बूवान पार्टी गठन गर्दा यो पार्टी विलय भएको थियो । नयाँ पार्टीका संयोजक छाराहाङ छन् । पार्टीका अन्य पदाधिकारी र सदस्य भने सार्वजनिक गरिएको छैन । पार्टीका सदस्य सचिवमा राजकुमार पालुङ्वा छन् । उनी पनि सञ्जुहाङ नेतृत्वको पार्टीको उपाध्यक्ष पद छोडेर छाराहाङ समूहमा आएका हुन् । पार्टीका संयोजक छाराहाङ र प्रमुख अतिथि प्राडा टङ्क न्यौपानेले ब्यानर खोलेर नयाँ पार्टीको घोषणा गरेका थिए ।
कार्यक्रममा पार्टीको घोषणापत्र उन्मुख अवधारणापत्र समेत सार्वजनिक गरिएको थियो । जसमा पार्टी गठनदेखि लिम्बूवान प्राप्तिका लागि समानान्तर सरकार सञ्चालन गर्ने लगायतका विषय समेटिएका छन् । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेसहित बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोर विश्वास, किरात वर्कर्स पार्टीकी अध्यक्ष सत्यामा किराती, सङ्घीय लिम्बूवान क्रान्तिकारीका मित्र लिङ्देन, तामाङसालिङ राष्ट्रिय जनएकता पार्टीका राम घिसिङ, सङ्घीय खम्बूवान लोकतान्त्रिक पार्टीका किरण खवास, ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्की, कान्तिपुर दैनिकका हर्ष सुब्बा, चित्रकार हिम्मत नेम्बाङ र साहित्यकार मनिष हेल्लोकले नयाँ पार्टीलाई शुभकामना दिँदै आ–आप्mना धारणा राखेका थिए । लिम्बूवानका अगुवाहरू कुमार लिङ्देन, पालुङ्वा र छाराहाङले छुट्टाछुट्टै पार्टी गठन गरी एकीकृत पार्टीलाई तीन टुक्रा बनाएका छन् । एकताका यी तीनै नेता एउटै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध थिए । भेडेटार भेलाबाट एकतामा बाँधिएका लिम्बूवानका तीन वरिष्ठ नेताहरूबीचको टक्करले छुट्टाछुट्टै दल गठन भएका हुन् । पालुङ्वा र लिङ्देनबीचको विवादले पार्टी टुक्रिएपछि तीन नेताले छुट्टाछुट्टै दल गठन गरेका हुन् । लिम्बूवान पक्षधर दल धेरै भएको भन्दै चौतर्फी आलोचना भएपछि सबै दल भेडेटार बैठकबाट एकीकृत भएका थिए । नेताहरूकै टकरावबाट लिङ्देन र पालुङ्वाले छुट्टाछुट्टै दलका नेतृत्व गरेका थिए ।
शुरुमा पालुङ्वासँगै रहेका छाराहाङले केही समयअघि दमकमा भएको सङ्घीय लिम्बूवान पार्टीको महाधिवेशनमा नेतृत्व चयनप्रति गम्भीर असहमति राख्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए । नयाँ दल गठन गर्न छाराहाङलाई सङ्घीय लिम्बूवान पार्टीकै नेता–कार्यकर्ताले साथ दिएका छन् । सङ्घीय लिम्बूवान पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार पालुङ्वाको नेतृत्वमा सो पार्टीका तीन दर्जन नेतासहित करीब दुई सय कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा एक महिनाअघि गरेका थिए । नयाँ पार्टीका अन्य पदाधिकारी र सदस्यहरू चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको पार्टीका युवा नेता जितेन राईले जानकारी दिए ।
प्रधानसम्पादकसहित चारजनालाई सम्मान
दमक/नयाँ पार्टी घोषणा कार्यक्रममा ब्लाष्ट टाइम्स दैनिककाप प्रधानसम्पादक राजकुमार कार्कीसहित चारजनालाई सम्मान गरिएको छ । पूर्वमा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै ब्लाष्टका प्रधानसम्पादक कार्कीसहित चारजनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा कार्कीसहित धरानका अग्रज पत्रकार हर्ष सुब्बा, साहित्यकार मनिष हेल्लोक र चित्रकार हिम्मत नेम्बाङ छन् । चारैजनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।