पूर्व प्रधान सेनापतिहरु देशको रक्षा गर्ने छलफलमा
काठमाडौं/नेपालको बिखण्डनका लागि देशभित्र र छिमेकी देश भारतमा विभिन्न तयारी भइरहेका बेला नेपाली सेनाको नेतृत्वले त्यसबारे सचेतता अपनाउन थालेको छ । बिखण्डनकारी अभियानलाई तिब्रता दिन सशस्त्र गतिविधिको समेत तयारी गरेको सूचना पाएपछि सैनिक नेतृत्वले सजगता अपनाएको हो । स्रोतका अनुसार देशको सुरक्षामा खलल पुग्ने गम्भीर सूचना पाएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वप्रधान सेनापतिहरुसँग परामर्श गरेका छन् । ३ माघमा प्रधानसेनापतिको निजी निवासमा भएको छलफलमा पूर्व प्रधानसेनापतिहरु प्यारजंग थापा, प्रज्वल शमशेर राणा, रुकमाङ्गद कटवाल, गौरव शमशेर राणा र छत्रमानसिंह गुरुङको उपस्थिति थियो ।
स्रोतका अनुसार देशभित्र वैधानिक रुपमा रहेका केही दललाई संविधान विरुद्ध मैदानमा खडा गर्ने र त्यसको समानान्तर रुपमा तराईका भूमिगत सशस्त्र समुहलाई भारतीय भूमिमा तालिम दिने काम एकै पटक भइरहेको छ । बिखण्डनको नारा बोकेको सीके राउतको समुहलाई पनि यसैबेला उतार्ने र त्यही विखण्डनको त्रास देखाएर संविधान संशोधन पारित गर्ने रणनीतिमा भारतीय खुफिया एजेन्सी सक्रिय छ ।
यही योजना अनुरुप गत पुस १९ गते भारतको पटनास्थित गान्धी मैदानमा यी तिनै पक्षको संयुक्त बैठक बसेको थियो । त्यसबेला अचानक स्वदेश फर्केका भारतीय राजदूत रन्जित रे सहित केभी राजन, देवेन्द्र यादव र रघुवंशप्रसाद सिंहसमेत उक्त बैठकमा उपस्थित थिए । त्यहाँ नेपालबाट गएका मधेसी मोर्चाका दोस्रो तहका १९ नेता उपस्थित थिए । र, त्यहाँ सिके राउत पनि सहभागी रहेको स्रोतले वताएको छ ।
संविधान संशोधनका लागि संसदको गणित नपुग्ने भएपछि मुलुक बिखण्डनको त्रास फैलाएर संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षलाई गलाउने रणनीतिबारे उक्त बैठकमा छलफल भएको थियो । जस अनुसार केही समय भित्रै तराईमा सीके राउतको गतिविधिलाई तिब्र बनाउने, भूमिगत र सशस्त्र समुह ज्वालासिंह र गोइतको सुसुप्त रहेको गतिविधिलाई चर्काउने योजना बनेको थियो । त्यसो गरेपछि तराईमा आतंक खडा गर्न सकिने र त्यसले मात्रै नेपालबाट तराई बिखण्डनको योजना पूरा हुन सक्ने निश्कर्ष निकालिएको थियो ।
मधेसका २५ वटा सशस्त्र समुहको प्रतिनिधित्व रहेको सो बैठकमा मधेसी मोर्चाका दोस्रो तहका केही नेताहरु पनि सामेल थिए । बैठकले डेढ महिना भित्र तराईका २० जिल्लामा पर्याप्त मात्रामा हतियार भण्डारण गर्ने र भारत र नेपालका ५०० हतियारधारीका लागि भारतमै तालिम चलाउने पनि निर्णय गरेको थियो । सो छलफलले तराईका एक हजार स्थानमा भारतको झण्डा गाढ्ने र भारतीय सेनालाई सिभिल ड्रेसमा खडा गरी स्वतन्त्र मधेसको पक्षमा ठूलो संख्याको प्रदर्शन गर्ने तयारी गरेको थियो ।
बुधवार सिरहाको लाहनमा मधेसी मोर्चाको आयोजनामा भएको बलिदान दिवसको कार्यक्रममा अचानक सीके राउतको उपस्थिति देखिएपछि उक्त बैठकको योजना पुष्टि भएको छ । कार्यक्रमको आयोजक मोर्चाका नेता समेत छक्क पर्नेगरी राउत कार्यक्रममा आए र सम्बोधन गरे । मधेसी मोर्चाका नेता भने कार्यक्रमको प्रचार प्रसार आफ्नै नाममा भए पनि प्रत्यक्ष संलग्नता नदेखियोस् भनेर बीचैमा कार्यक्रम छोडी बाहिरिएका थिए । भारतीय संस्थापनले मधेसी मोर्चा, सीके राउत र सशस्त्र समुहलाई संयुक्त रणनीति अन्तर्गत परिचालित गर्ने योजना बनाएको विषयमा केही अघि राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेको प्रमुख दलका नेताको बैठकमा छलफल भएको थियो । तर, अहिले काठमाडौंमा भारतीय योजनाप्रति मैत्रीपूर्ण सरकार रहेकाले पनि राउत परिचालन गर्ने डिजाइन सफल हुने निश्कर्ष पटनामा निकालिएको थियो । केही समयअघि राष्ट्रपति भवनमा भएको शीर्ष नेताहरुको छलफलमा यसै विषयमा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग जिज्ञासा राखेका थिए । तर, दाहाल भारतको योजनामैत्री भएकाले उनले सुरक्षा निकायका प्रमुखसँग आफूले बुझ्ने वताएर पन्छिए । उनले यो कुरा सुरक्षा निकायसँग त बुझेनन् । तर, मधेसी मोर्चाका नेताहरुसँग भने सेयर गरे । दाहालले मधेसी मोर्चाका नेताहरुसँग माघे संक्रान्तिका दिन गरेको यस विषयको छलफलका आधारमा दाहाल निकट एक अनलाइन पोर्टलले राष्ट्रिय सुरक्षा सम्बन्धी यस विषयलाई ट्वीस्ट गर्दै समाचार बाहिर ल्यायो । प्रधानमन्त्री दाहालले यस विषयमा सुरक्षा निकायसँग सोधपुछ गरेको, सुरक्षा निकायले विस्तृतमा बुझ्ने आश्वासन दिएको र यो सूचना गलत रहेको भन्दै दलील पेश गर्यो ।
तर, सूचना गलत थिएन । बरु त्यो अनलाईनले मधेसी मोर्चाका नेताहरुलाई हवाला दिंदै सूचना गलत रहेको उल्लेख गर्यो । शेरबहादुर देउवाले भारतीय राजदूत रन्जित रेसँग सोधपुछ गरेको उल्लेख गर्दै राजदूत रेले अस्वीकार गरेकाले सूचना गलत रहेको दलील पेश गर्यो । दूध चोरेको विरालोले ‘दूध चोरेको होइन’ भनेकाले सूचना गलत रहेको भनेजस्तै समाचार प्रकाशित गर्यो । तर, त्यसयता लाहनमा सीके राउतले चलाएका गतिविधिले सूचनालाई पुष्टि गरेको छ । राष्ट्रपति कार्यालयमा भएको छलफलमा यस विषयमा ध्यानाकर्षण गर्ने एमाले उपाध्यक्ष भीम रावलले रिपोर्ट पेश गरेको भनिए पनि रावलले आफूले रिपोर्ट पेश गरेको नभइ आफूले पाएको सूचनाका आधारमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको वताए । ‘म गुप्तचर हो र सरकारलाई सूचना दिंदै हिंड्ने ? मैले आफूले पाएको सूचनाका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हुँ’ रावलले भने, ‘प्रधानमन्त्री नेपालकै होलान् भन्ने लागेर देशको सुरक्षासँग सम्बन्धित विषयमा चासो ब्यक्त गरेको थिएँ तर सरकारले सूचनाको दुरुपयोग गरिरहेको छ ।’