धरान/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले सोमबार गरेको आदेशको स्वागत गरेको छ। medeshi morcha बुधबार बसेको मोर्चाको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै स्वागत गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए। सरकारले संसदमा प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित दर्ता गर्नुपर्ने ठहर बैठकले गरेको छ। संशोधन प्रस्ताव पारित गर्न अन्य दलहरुलाई आग्रह गर्नेसमेत बैठकले निर्णय गरेको महासचिव झाले बताए। बैठकले संविधान संशोधनका लागि थप दबाबमूलक आन्दोलनका कार्यक्रम बनाउने जिम्मा मोर्चाको सचिवालयलाई दिएको छ। मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सँग बिहीबार थप छलफल गर्ने भएको छ। मोर्चाको बैठक बस्नुअघि मोर्चाआबद्ध सङ्घीय गठबन्धनको बैठकसमेत बसेको थियो। रासस