
विराटनगर / नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान संशोधन प्रक्रियालाई अहिलेको अवस्थामै थाँती राखेर स्थानीय निकायको निर्वाचनमा दलहरू जुट्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चाकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले २०७४ माघसम्ममा तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रक्रियामा पछि छलफल गर्ने गरी सहमति कायम गरेर निर्वाचनमा जानुपर्ने धारणा राखे । संविधान कार्यान्वयनमा मुख्य चुनौती रहेको बताउँदै डा. कोइरालाले दलहरूबीच सहमति र सहकार्य गरेर भए पनि संविधान कार्यान्वयनमा जानु उपयुक्त हुने उल्लेख गरे ।
संविधानमा केही त्रुटि भएकाले त्यसलाई सच्याएर मधेशका मुद्दा सम्बोधन हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री कोइरालाले विशेष गरी संविधान संशोधनका लागि एमाले र मधेशी मोर्चासँगको वार्तालाई घनीभूत रुपमा अगाडि बढाएर सहमति कायम गर्नुपर्नेमा जोड दिए । प्रदेश नम्बर ५ मा देखिएको विवाद समाधानका लागि स्थानीय जनताको राय बुझेर सीमाङ्कनको टुङ्गो लगाउनुपर्ने उनले सुझाए । काङ्ग्रेस ठूलो पार्टी भएर पनि राजनीतिक नेतृत्व लिन असफल भएको भन्दै कोइरालाले आप्mनै नेतृत्वको आलोचनासमेत गरे । ठूलो दल काङ्ग्रेस भएकोले अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए ।