धरान/एक महिनादेखि जारी संसदको गतिरोधलाई हटाउने शीर्षदलहरुबीच सहमति बनेको छ । मंगलबार सभामूख ओनसरी घर्ती मगरले बोलाएको बैठकमा शीर्षस्थ नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सुचारु गर्ने विषयमा सहमति भएको हो । Onsari-gharti-3-300x195-e1455889923909 दलहरुबीच सहमति भएपछि मंगलबार एक बजेकालागि बोलाइएको संसद बैठक सूचना टाँस गरी २४ गतेसम्मकालागि स्थगित गरिएको छ। दलहरुबीचको सहमति अनुसार प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दलले २२ गते राजधानीमा विरोधसभा सम्पन्न गर्न दिने सहमति बनेको छ । कार्यव्यवस्था समितिको बैठकमा सहभागी अखण्ड नेपाल पार्टीका संसदीय दलका नेता कुमार खड्काका अनुसार विपक्षीको विरोधसभापछि २४ गते बस्ने संसद बैठक सुचारु गर्ने विषयमा दलहरुबीच सहमति भएको छ। सर्वोच्च अदालतले संसदीय प्रक्रियामा रहेको विषयमा सांसदहरुले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदै न्यायापालिकाबाट प्रक्रिया नै रोक्ने गरी आदेश गर्न उचित नहुने फैसला गरेपछि प्रमुख प्रतिपक्ष संसदमा दर्ता भएको संशोधन प्रस्ताव प्रक्रियामा लैजान सहमत भएको हो। कार्यव्यवस्थ परामर्श समितिको बैठकमा सभामुख ओनसरी घर्ती, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले २२ गते विपक्षी दलको आमसभापछि संसद बैठक बोलाउने र सुचारु गर्ने सहमति गरेको स्रोतले जनाएको छ। योसँगै सरकारले गत मंसिर १४ गते राति संसदमा दर्ता गराएको संशोधन प्रस्ताव अघि बढ्ने भएको छ।