khanepaniविजयपुर/धरानमा सञ्चालित खानेपानी आयोजनाको काम ५६ प्रतिशत मात्र सम्पन्न भएको छ । शनिबार भएको समीक्षा बैठकले चाडपर्व, जनशक्तिको अभाव, नाकाबन्दी, हड्ताल, मन्त्रालय विभाजन, अस्थिर सरकार, बजेट निकासा लगायत विविध कारणले अपेक्षित कार्य सम्पन्न गर्न नसकेको निष्कर्ष निकालेको छ ।यो निर्माण लक्ष्यभन्दा ५ प्रतिशतले कमी हो ।

समीक्षा बैठकमा बोल्दै सांसद तथा अनुगमन समितिका सल्लाहकार कृष्णकुमार राईले जसरी भएपनि धराने जनताले पानी खान पाउनुपर्ने बताएका थिए । उनले निर्धारित समयभित्र धरानवासीलाई स्वच्छ खानेपानी दिलाउनका लागि आवश्यकता परे अबका दिन रातमा पनि काम गर्नेगरी निर्माण योजना बनाउन आयोजनालाई आग्रह गरे ।अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न तत्काल आयोजनाको निर्माण योजना तथा कार्यतालिका परिमार्जन गरी सबै साइटमा युद्धस्तरमा निर्माण कार्य अगाडि बढाउनुपर्ने बताएका थिए ।

परामर्शदाता इञ्जिनियर अनील नेपालले सिनियर जनशक्ति थप गरी आयोजनाको पाँचवटै सिस्टममा समानान्तर ढङ्गले कार्य गर्नुपर्ने तामाङले बताएका थिए ।कार्यकारी अधिकृत तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष विष्णु कोइरालाले ठेकेदार र आयोजनाले कुनैपनि बहानामा काममा ढिलाइ गर्न नहुने भन्दै बजेट व्यवस्थापनका लागि आपूm तयार रहेको बताए ।

आयोजना प्रमुख ई. राजु पोखरेल र ठेकेदार निर्वाण गौलीले विभिन्न कारणवश आयोजना निर्माणमा केही ढिला भएपनि समयसीमाभित्रै सम्पन्न गर्न तत्पर रहेको बताए । समीक्षा कार्यक्रमको सहजीकरण धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर तथा अनुगमन समितिका सदस्यसचिव सुरज श्रेष्ठले गरेका थिए ।

एकीकृत शहरी विकास कार्यक्रमअन्तर्गत एशियाली विकास बैङ्कको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धरान नगरपालिकाको १५ प्रतिशत गरी कूल १ अर्ब ४८ करोड लगानीमा ठेकेदार टियानजीन तुन्दी जोइन्ट भेन्चरले जुलाई २०१५ बाट आगामी जुलाई २०१७ मा सम्पन्न गर्ने गरी धरानमा खानेपानी आयोजनाको कार्य गरिरहेको छ ।

बैठकमा अनुगमन समितिका सल्लाहकार प्रदीप भण्डारी, सदस्यहरु जयकुमार राई, रामकुमार आङबुहाङ, ताजुब लिम्बू, अनुप देवान, एकराज कोइराला, चोत्लुङ, केशव घिमिरे, प्रभु श्रेष्ठ, मुरारी भट्टराई लगायत उपस्थित थिए ।