सिरहा/नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव विजयी भएका छन् । उनी सिरहा क्षेत्र नं ४ का सांसद पनि हुन् । शनिबार राति सम्पन्न मतगणनाअनुसार सांसद यादवले प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गरे । सांसद यादवले ५६९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिए । सभापतिमा विजयी यादव पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि शनिबार पुनः मतदान भएको थियो । यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रामकुमार यादवले ३०३ मत पाएका छन् । पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कपलेश्वर साहले २६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। रासस