दमक/दमकको एक मात्र निर्माणाधीन बसपार्क निर्माणको काम चालू आर्थिक वर्षभित्रै पूरा हुने भएको छ । २०५९ फागुनमा शुरु गरिएको बसपार्कको निर्माण कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतले बताए । उनले बसपार्क निर्माण तीन चरणमा पूरा गरिने काम अगाडि बढाइएको बताउँछन् ।
अहिले दोस्रो चरणको काम धमाधम भइरहेको छ । पहिलो चरणमा एक करोडभन्दा बढीको लगानीमा बसपार्कको पूर्वाधारलगायतका संरचना निर्माण गरिएको थियो । अहिले दोस्रो चरणमा बसपार्कको थप स्तरोन्नतिको काम धमाधम भइरहेको छ । तेस्रो चरणको बजेट निकासासमेत भइसकेको र बाँकी कामका लागि केही दिनभित्रमै सम्झौता हुन लागेको अध्यक्ष बस्नेतले जनाए ।
उनले निर्माणाधीन बसपार्कको काममा ३ करोड ७५ लाख बजेट सरकारको शहरी विकास मन्त्रालयबाट निकासा भई काम गर्न लागिएको जानकारी दिए ।अध्यक्ष बस्नेतका अनुसार हाल सञ्चालित दोस्रो चरणको स्तरोन्नतिको कामका लागि सरकारबाट उपलब्ध २ करोड ५३ लाखबाट बसपार्कमा विद्युतीय जडान, बाटो ढलाइ र टर्मिनल भवनको काम सम्पन्न हुने छन् । बसपार्कमा सुविधा सम्पन्न टर्मिनल भवन, लामो तथा छोटो दुरीका सवारी गुड्ने पार्क, यात्रु प्रतीक्षालय तथा आधुनिक उपकरणहरू जडित यात्रु सूचना बोर्डहरूलगायतका पूर्वाधारहरु निर्माण हुने क्रममा छन् ।