charaइनरुवा/ अर्ना तथा चराचुरुङ्गीहरुको राजधानी भनेर चिनिने पूर्वको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा वृद्धि भएको छ ।आरक्षमा चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा आन्तरिक तथा विदेशी पर्यटक आगमनमा वृद्धि भएको हो । आरक्षमा चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर महिनासम्ममा विदेशी ८१ जनासहित ४३ सय ८० जना पर्यटक आएको कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यालयले जनाएको छ ।

आरक्षमा अर्ना, चराचुरुङ्गी हेर्नका लागि नेपाल तथा विदेशी मुलुकबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको आरक्षले जनाएको छ । आरक्षमा सबैभन्दा बढी कात्तिक महिनामा पर्यटक आगमन भएको हो । कात्तिक महिनामा १६ सय ७० जना आन्तरिक पर्यटक आएका थिए भने ४२ जना विदेशी पर्यटक आएको आरक्षका संक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।यसैगरी आरक्षमा साउन महिनामा ६ सय १५ जना आन्तरिक, भदौमा ९ सय २२ जना आन्तरिक र २ जना विदेशी, असोजमा ६ सय ८५ जना आन्तरिक र १९ जना विदेशी तथा मङ्सिरमा ९ सय ४७ जना आन्तरिक तथा १८ जना विदेशी पर्यटक आएको आरक्षका संरक्षण अधिकृत साहले बताए ।

यता आरक्षका संरक्षण अधिकृत साहले अब आरक्षमा पर्यटक आगमनमा कमि आउने आशङ्का गरेका छन् । आरक्षको जङ्गल क्षेत्रबाट दैनिक रुपमा निस्कने जङ्गली हात्तीको त्रास र डरका कारण पर्यटक आगमनमा कमि आउने आरक्षका संरक्षण अधिकृत साहको भनाइ छ । आरक्षमा अहिले पर्यटक आगमनलाई निषेध गरिएको छ । पर्यटक आगमनबाट आरक्षले चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ५ लाख दश हजार ९ सय ९ रुपैयाँ राजश्व सङ्कलन गरेको आरक्षक लेखा शाखाले जनाएको छ ।