काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । आफूलाई माओवादी कार्यकर्ता बताउने एक समूहले कार्कीलाई कालोमोसो दलेको हो ।
आफूविरुद्ध परेको योग्यता सम्बन्धी मुद्दाको पेशीका लागि कार्की बिहीबार सर्वोच्च अदालत पुगेका थिए । तर, कालो ज्याकेट र निलो जिन्स पाइन्ट लगाएका व्यक्तिले कालोमोसो दलेको आफ्नो हातले लोकमानको अनुहारमा प्रहार गरे । कार्कीको अनुहारमा कालो दाग स्पष्ट देखिन्थ्यो । त्यसको केही समयपछि कार्की अनुहार धोएर बाहिरिएका थिए ।
कडा सुरक्षा निगरानी हुने अदालतभित्रै कार्कीलाई आक्रमण गरेका व्यक्तिले ‘नेकपा माओवादी जिन्दावाद’को नारा लगाएका थिए । ति व्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका छन् ।
विज्ञप्ति जारी गरेर दलहरुलाई लोकमानको धम्की
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले नेताहरूको शरीरबाट बस्त्र उतारिदिने चेतावनी दिएका छन् ।
कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सुरू भएको छ । सम्भवत शुक्रबार फैसला आउने छ । बिहीबार नै पेशी बुझ्न अदालत पुगेका उनीमाथि सर्वोच्च परिसरमै आक्रमण भए पछि लगत्तै विज्ञप्ति मार्फत उनले धम्की दिएका हुन ।
कार्कीको निजी वेबपेजबाट सार्वजनिक गरिएको चेतावनीपूर्ण अपीलमा उनले आफूसँग धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु रहेको भन्दै कुनै पनि बेला खोल्न सक्ने धम्की दिएका छन् ।
कार्कीले आफूमाथि नियोजित ढङ्गले आरोप र लगाइएको र त्यो हतोत्साहित गर्ने प्रयास भएको दाबी गरेका छन् ।आफूलाई नियुक्त गर्दा लोकतन्त्र कसैका प्रति पूर्वाग्रही हुँदैन, योग्यता र क्षमताको उच्च मूल्याङ्कन हुन्छ भन्ने विश्वास भएको र आफ्नो कामबाट भ्रष्टाचारीहरु थर्कमान र निरुत्साहित भएको बताएका छन् ।
उनले भनेका छन्– ‘भ्रष्टाचार बिरुध्दको काम कारवाहीलाई सघन र सशक्त बनाउन खोज्दा खास दलका नेता र कतिपय माननीय सांसद के कति कारणले मेरा विरुध्द महाअभियोगको वाण हान्न अग्रसर हुनु भएको हो यो मैले बुझ्न सकेको छैन ।’